पुनर्निर्माण र पुनःस्थापनामा ७ खर्बभन्दा बढी लाग्ने

हालसम्म १४ अर्ब सहयोग प्राप्त

0
Shares

काठमाडौँ।

रसुवा भोटेकोशी बाढीको कारण क्षतविक्षत संरचना पुनर्निर्माण र पुनःस्थापना गर्न ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ । प्राधिकरणले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा ४ खर्ब ८अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको उल्लेख छ ।
प्रतिवेदनमा आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःस्थापना गर्न ८अर्ब ७३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । भोटेकोशी बाढीबाट ७ हजार ५ सय ७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन् भने ४८ सार्वजनिक भवन, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन् । यो सामाजिक क्षेत्रको पुनःस्थापना गर्न १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

अनुमानित रकममध्ये हालसम्म करिब १४ अर्ब रुपैयाँ संकलन भएको छ भने अझै ७ खर्बभन्दा बढी रकम अपुग देखिएको छ । सरकारले दातृनिकायसँग सहयोगको अपेक्षा गर्दै विश्व बैक र एसियाली विकास बैंकलगायत दातृनिकायसँग सहयोगको याचना गरेको छ ।

बाढीले सडक, पुल, सुक्खा बन्दरगाह, सर्वसाधारणका घरखेत, व्यवसाय, मालवाहक कन्टेनर, नाकामा आइपुगेका सवारी साधनलगायत बगाएको छ  । तथ्याङ्कअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र रहेको छ । पूर्वाधार क्षेत्र पुनर्उत्थान गर्न ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान छ । पूर्वाधार क्षेत्रमध्ये ऊर्जा र सडकमा ब्यापक क्षति पुगेको छ । ७ सय ५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट क्षतिग्रस्त छन् । यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनर्उत्थान गर्न ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । त्यसैगरी ३७ वटा गाडी गुड्ने पुल क्षतिग्रस्त भएका छन् भने ३३ वटा बगेका छन् । ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनःउत्थान गर्न ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिवेदनअनुसार उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८ सय ६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । बाढीको कारण १७ वटा बैंकका शाखा र ४ हजार ८ सय व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । यो क्षेत्र पुनउत्थान गर्न ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने आँकलन गरिएको छ । हालसम्म दातृनिकायबाट करिब १४ अर्ब रुपैयाँ सहयोग भएको छ । तथ्याङ्कअनुसार शनिवारसम्म अझै सवा ७ खर्ब रुपैयाँ अपुग देखिएको छ । सरकारले पहिलो प्राथमिकतामा विद्यालय भवन पुननिर्माणलाई राख्दै तयारी थालेको छ ।

यो प्रारम्भिक प्रतिवेदन स्याटेलाइट तस्बिरहरू, ड्रोनसर्भे, सम्बन्धित मन्त्रालय, विभाग तथा निकायबाट प्राप्त तथ्याङ्कक तथा विवरणको विश्लेषण गरेर तयार गरिएको हो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण,राष्ट्रिय तथ्यांक कार्यालय,कृषि, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सडक विभाग, पर्यटन विभाग, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरू रहेको समितिले तयार गरेको हो ।

प्रतिवेदनअनुसार हालसम्म १९ वटा स्वास्थ्य संस्थाहरूमा कुल ३३८ जना बिरामीको उपचार भएको छ । जसमध्ये २६६ जना उपचारपछि अस्पतालबाट फर्किएका छन् भने ३६ जना उपचाररत छन् । ३२ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने उपचारका क्रममा ४ जनाको मृत्यु भएको छ ।
प्राधिकरणले तयार पारेको पुनःस्थापना तथा सेल्टर व्यवस्थापन कार्ययोजना,२०८३ अनुसार सहरी विकास तथा भवन निर्माण विभागद्वारा आपतकालीन अस्थायी सेल्टरको नमुना ढाँचा तयार भइरहेको जनाएको छ ।

प्राधिकरणमा रहेको ‘सिचुएसन रुम’बाट प्रत्येक स्थानीय तह र वडासँग सिधै सम्पर्क गरी प्रत्येक दिन पालिकागत रिपोर्ट कार्ड (अवस्था र आवश्यकता समेटिएको)तयार गरिएको छ । हरेक दिन मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक र परिचालन टोलीको ‘ब्रिफिङ’हुनाका साथै तोकिएको जिम्मेवारी र सोअनुसार सम्पादित कार्यहरूका साथै समस्या, चुनौती तथा समाधानका प्रयासहरू बारे छलफल गर्ने व्यवस्था गरेको छ । बाढीका कारण हालसम्म झण्डै १४ सय जनाको मृत्यु भैसकेको छ भने ५ हजार १३० बेपत्ता छन् । बेपत्ताको खोजी र उद्धारको लागि विश्वभरका १५० जना विदेशी उद्धारकर्मी खटिरहेका छन् ।

१८ विद्यालय पुनर्निर्माण गर्न २ खर्ब

काठमाडौँ।

रसुवाको भोटेकोशी नदीमा १७ दिनअघि आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षाक्षेत्रको संरचना पुनर्निर्माण गर्न २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालयहरू प्रभावित भएका छन् । जसमा ११ वटा विद्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन् । बाढीपश्चात त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीहरूको पठनपाठन अबरुद्ध भएको छ । संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ ।