रसुवा बाढीमा सरकारको अहंकारका कारण धेरैको ज्यान जोगाउन सकिएन : प्रचण्ड


काठमाडौँ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्का बेला सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिन नसक्दा धेरैको ज्यान जोगाउन नसकिएको बताएका छन्

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले उक्त विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए। विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिले नेपालसँगै अन्तर्राष्ट्रिय समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाइ छ।

दाहालले विपद्को सुरुवाती चार–पाँच दिनमै विशेषज्ञ तथा प्राविधिकलाई परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएको भए थप मानिसको जीवन बचाउन सकिने दाबी गरे। विदेशी विज्ञहरूले समेत सहयोगको इच्छा व्यक्त गर्दा सरकारले समयमै पहल नगरेको उनको आरोप छ।

‘हामी आफैं गर्न सक्छौँ’ भन्ने मानसिकताका कारण सरकारले आवश्यक विशेषज्ञको सहयोग लिन ढिलाइ गरेको दाहालले बताए। उद्धारको १०–११ दिनपछि पनि केही मानिस जीवितै फेला परेको घटनाले समयमै प्रभावकारी र वैज्ञानिक ढङ्गले उद्धार गर्न सकेको भए थप मानिसलाई बचाउन सकिने अवस्था रहेको उनको भनाइ छ।

विपद्का बेला सरकारको कार्यशैलीसमेत अहंकारपूर्ण र संवेदनहीन देखिएको दाहालले टिप्पणी गरे। अझै पनि बेपत्ताको खोजी, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

दाहालले विपद्बाट प्रभावित पहाडी क्षेत्रका नागरिकलाई सहयोग गर्न मधेसका जनतालाई समेत अपिल गरे। पहाडमा दुःख पर्दा मधेस र मधेसमा संकट पर्दा पहाडले सहयोग गर्ने परम्परा नेपालमा रहेको उल्लेख गर्दै उनले अहिलेको विपद्मा पनि राष्ट्रिय एकताको भावना देखाउनुपर्ने बताए।

जनस्तरबाट हुने सहयोगले पीडितलाई राहत दिनुका साथै राष्ट्रिय एकता र प्रभावित परिवारको मनोवैज्ञानिक पुनःस्थापनामा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

यसैगरी दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको विपद्लाई जलवायु परिवर्तनको प्रभावसँग जोडेर हेर्नुपर्ने बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’ र ‘लस एन्ड ड्यामेज’को मुद्दालाई थप प्रभावकारी रूपमा उठाउनुपर्ने उनको धारणा छ।

बढी कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले नेपालजस्ता जलवायु परिवर्तनको असर भोगिरहेका देशलाई सहयोग गर्नुपर्ने भन्दै दाहालले हिमपहिरो, हिमताल विस्फोट, बाढी तथा पहिरो कुनै एक देशको मात्र समस्या नभई विश्व समुदायको साझा चुनौती भएको बताए।

उनले अहिले पनि खोज तथा उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै सरकारलाई गम्भीर, संवेदनशील र जनउत्तरदायी भएर काम गर्न आग्रह गरे।