काठमाडौँ, (नेस) ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुनुभएको छ । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य इन्जिनियर साहलाई बिहीवार प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उद्योगमन्त्री साहले बिहीवार नै शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक हासिल गरेका मन्त्री साहसँग जलविद्युत् क्षेत्रमा २३ वर्ष लामो व्यावसायिक अनुभव छ ।
उहाँले सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । पछिल्लो समय सिके राउत नेतृत्वको जनमत पार्टीको उपाध्यक्षका रुपमा क्रियाशील रहेका साह गत फागुन २१ गतेको निर्वाचनमा भने रास्वपाबाट निर्वाचित हुनुभएको थियो ।












प्रतिक्रिया