भोटेकोशी बाढी प्रभावितलाई जापनिज नागरिकको सहयोग

940
Shares

काठमाडौँ।

जापनिज कम्पनी डिस्कभरी सर्पोटले रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार र पुर्नस्थापनामा सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग गरेको छ ।

डिस्कभरी सर्पोट प्रालिका प्रमुख जापनिज नागरिक मासुई सोताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न १० लाख रुपैयाँको ग्लोबल आईएमई बैङ्कको चेक अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

नेपाली समुदाय प्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको डिस्कभरी सर्पोटले विपद्को समयमा बाढी प्रभावितलाई सहयोग गर्ने उदेश्यले उक्त रकम कोषमा जम्मा गरेको प्रमुख मासुई सोताले बताए ।

डिस्कभरी सर्पोटका प्रमुख मासुई सोता नेपाली समुदाय प्रति उद्धार भावना राख्ने व्यवसायी मानिन्छन् । उनले जापानमा रहेका नेपाली समुदायका सामाजिक– सांस्कृतिक अभियानहरुमा निरन्तर सहयोग गर्दे आएका छन् । 

डिस्कभरी सर्पोट प्रालिले गतबर्ष नेपाली समुदायले जापानमा आयोजना गरेको एभरेष्ट फेस्टिबल, दशै फेस्टिबल, नेपथ्यको जापान कन्सर्ट लगायतका कार्यक्रममा सहयोग गरेको थियो । डिस्कभरीले जापानको अलवा नेपालमा समेत होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेको छ । 

सफल व्यवसायी मासुई सोता नेपाली समुदायसंगको अपनत्वले आफुलाई नेपालीहरुको हरेक सुख– दुखमा आत्मिय सहकार्य गर्न अग्रसरता मिल्ने गरेको बताउँछन् । आफ्नो व्यवसायमा नेपाली समुदायको निस्वार्थ सहयोग रहेको स्मरण गर्दे मासुई सोता नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्नु आफ्नो दायित्व रहेको बताउँछन् ।