काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभालाई लिएर आफूले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामै माफी मागेकी छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको भन्ने आशयमा कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारिन्।
जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो। उक्त विषय संसदीय समितिदेखि राष्ट्रिय सभाको बैठकसम्मै उठेको थियो।
बुधबारको बैठकमा मन्त्री गौतमले आफूले कानून निर्माण प्रक्रियाबारे रहेको वास्तविक अवस्थामात्रै प्रस्तुत गरेको दाबी गरिन्। प्रतिनिधिसभाबाट पारित हुँदैमा कानून निर्माणको प्रक्रिया पूरा नहुने र राष्ट्रिय सभा तथा राष्ट्रपतिबाट समेत प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे आफूले बोलेको उनको भनाइ थियो।
उनले भनिन्, ‘मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कुनै भाषा वा शब्द प्रयोग गरेको छैन। मैले कानून निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन भन्ने तथ्य प्रस्तुत गरेकी हुँ।’
मन्त्री गौतमले आफू राजनीतिक व्यक्ति भएकाले सार्वजनिक कार्यक्रममा व्यक्त गरेको भनाइलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिएको बताइन्। आफ्नो भनाइलाई राजनीतिक अर्थ लगाएर प्रस्तुत गर्दा गलत बुझाइ सिर्जना भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरिन्।
जेनजी स्मृति दिवस कार्यक्रममा सहभागी हुँदा कानून निर्माणलाई तीव्रता दिनुपर्ने तथा संविधान संशोधन गर्नुपर्ने विषयमा आफूलाई प्रश्न गरिएको र त्यसको जवाफ दिने क्रममा कानून निर्माणको जटिल प्रक्रियाबारे आफूले जानकारी गराएको उनले स्पष्ट पारिन्।
उनले आफ्नो अभिव्यक्तिबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए त्यसप्रति माफी माग्दै आगामी दिनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताइन्।
मन्त्री गौतमको अभिव्यक्तिलाई लिएर पछिल्लो समय उत्पन्न विवादपछि आएको उनको स्पष्टीकरणले राष्ट्रिय सभा र सरकारबीचको सम्बन्ध तथा कानून निर्माण प्रक्रियाबारेको बहसलाई पुनः सतहमा ल्याएको छ।












प्रतिक्रिया