विकास निर्माणमा हातेमालो श्रमदान

0
Shares

उदयपुर ।

त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले ‘हातेमालो श्रमदान अभियान’ सञ्चालन गर्ने भएको छ । वडा अध्यक्ष किरण पाण्डेको अगुवाइमा सञ्चालन हुन लागेको अभियान आगामी शनिबार त्रियुगा नगरपालिका–१० स्थित बाबरी क्षेत्रमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।


वडा कार्यालयको यही भदौ २३ गतेको निर्णयअनुसार आयोजना गर्न लागिएको उक्त अभियानमा बजार व्यवस्थापन समिति, सम्बन्धित टोल विकास संस्था, टोलवासी, टोल समन्वय समिति तथा त्रियुगा–१० साकेला समितिको सहकार्य रहनेछ । अभियानमा वडा क्षेत्रभित्रका सार्वजनिक तथा सामुदायिक महत्वका स्थानमा श्रमदानमार्फत सरसफाइ, व्यवस्थापन तथा आवश्यक सुधारका काम गरिने जनाइएको छ ।

अभियानअन्तर्गत बाबरी क्षेत्रमा रहेका सडक तथा बाटो, कल्भर्ट, सार्वजनिक शौचालय र पिकनिक स्पोट लगायतका स्थानमा सरसफाइ तथा व्यवस्थापन गरिनेछ । सार्वजनिक संरचना र स्थललाई व्यवस्थित बनाउँदै स्थानीय समुदायमा आफ्नो गाउँ–ठाउँप्रतिको अपनत्व र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष किरण पाण्डेका अनुसार विकास निर्माणका काममा स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता बढाउन श्रमदान अभियानलाई प्राथमिकता दिइएको हो । विकास निर्माण सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी नभई नागरिकको समेत साझा दायित्व भएकाले स्थानीयलाई सहभागी गराउँदै सार्वजनिक संरचनाको संरक्षण र सरसफाइमा जोड दिन अभियान प्रभावकारी हुने उहाँको भनाइ छ ।
त्रियुगा नगरपालिकामा विकास निर्माण तथा स्थानीय सहभागिताका गतिविधिमा सक्रिय वडा अध्यक्षका रूपमा किरण पाण्डेलाई लिने गरिन्छ ।

उहाँको नेतृत्वमा वडा कार्यालयले स्थानीय समुदाय, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै विकासका गतिविधिलाई अघि बढाउँदै आएको बताइएको छ । ‘हातेमालो श्रमदान अभियान’ पनि स्थानीय सहभागिता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले अघि सारिएको वडा कार्यालयको भनाइ छ । श्रमदान कार्यक्रममा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरोकारवाला तथा आम नागरिकलाई समेत सहभागी हुन वडा कार्यालयले आह्वान गरेको छ । सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापनमा सबैको सहभागिता भएमा अभियानले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

वडा कार्यालयले अभियानमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण टोलवासी तथा आम नागरिकलाई आग्रह गरेको छ । अभियानमा सहभागी हुने नागरिकका लागि खाजा तथा नास्ताको व्यवस्थासमेत गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार श्रमदान कार्यक्रम भदौ २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । बाबरी क्षेत्रमा हुने उक्त अभियानमा स्थानीयको उल्लेख्य सहभागिता जुटाउने लक्ष्य वडा कार्यालयले लिएको छ । सार्वजनिक स्थलको सरसफाइ, संरक्षण र व्यवस्थापनसँगै स्थानीय नागरिकबीच सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।