साइबर बुलिङ गरे तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने लामिछानेको चेतावनी


काठमाडौँ, (नेस) ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिनुभएको छ।

बुधवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताउनुभएको हो।विपद्मा सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक र उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै भन्नुभयो– ‘नागरिकको चित्कार र पीडालाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने वा साइबर बुलिङ गर्ने छुट कसैलाई छैन।’

रास्वपाका कुनै पनि तहका सदस्य वा पदाधिकारी यस्ता अमानवीय कार्यमा संलग्न भएको पाइए तत्काल पार्टीबाट निष्कासन गरिने चेतावनी दि“दै उहा“ले पार्टीलाई पीडित नागरिकलाई होच्याउने अन्ध–समर्थक नभई उनीहरूको आ“सु पुछ्ने कार्यकर्ता चाहिएको बताउनुभयो।
उहा“ले पछिल्लो बाढीपहिरो केवल प्राकृतिक प्रकोप नभई जलवायु अन्यायको नतिजा भएको ठहर गर्दै संसद्बाट हिमाली जलवायु तथा विपद् आपत्कालसम्बन्धी विशेष प्रस्ताव पारित गर्न माग गर्नुभयो। लामिछानेले भदौ १० को विपद्मा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतक नभई जलवायु अन्यायका पीडितका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो।

विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले जलवायु संकटको चर्को मूल्य चुकाउनुपरेको भन्दै उहा“ले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताउनुभयो। उहा“ले संघीय संसद्का दुवै सदनबाट हिमाली जलवायु तथा विपद् आपत्कालसम्बन्धी विशेष प्रस्ताव पारित गरेर आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा नेपालको स्पष्ट अडान प्रस्तुत गर्न सरकारलाई आग्रह गर्नुभयो।

विगतमा जस्तो आफू यसपटक विपद्ग्रस्त क्षेत्रको मैदानमा नदेखिनुको कारण स्पष्ट पार्दै लामिछानेले भावनाको भेलमा बगेर एक्लै दौडिनुभन्दा संस्थागत प्रणालीलाई बलियो बनाउनुपर्छ भन्ने मान्यताले आफू रोकिएको बताउनुभयो।व्यक्तिको जोश र जा“गरको सीमा हुने भन्दै उहा“ले व्यक्तिभन्दा राज्यका विपद् व्यवस्थापनसम्बन्धी संस्थाहरूलाई स्रोत, साधन र प्रविधिले सम्पन्न बनाएर मात्र भविष्यका संकटहरूको सामना गर्न सकिने बताउनुभयो।