फेवातालको पहिलो नक्सा कोर्ने इन्जिनियर श्रेष्ठको निधन 

सरकारले दिने सम्मानसहित पशुपति आर्यघाटमा दाहसंस्कार


काठमाडौँ। 

पोखराको फेवातालको पहिलो नक्सा कोर्ने राष्ट्रसेवक इन्जिनियर नन्दकुमार श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । पोखराको फेवातालसंगै  पावरहाउस, बुटवलको तिनाउ नदी तथा बाणगंगा सिँचाइ आयोजना, लमजुङको हाडेटार सिँचाइ योजना, बर्मझियाको चन्द्र नहरलगायत विभिन्न विकास तथा सिँचाइ आयोजनामा श्रेष्ठले इञ्जििनियरको हैसियतले प्रमुख र नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

तीस बर्ष राष्ट्रसेवामा रहेर अनिवार्य अवकाशपछि  पूर्णतः स्वस्थ जीवन बिताइरहनुभएका दिवंगत श्रेष्ठले एक्कासी आफूहरुलाई छोडेर जानुभएको बुहारी रेणुका गुरुङले जानकारी दिनुभएको छ ।  ग्रिनसिटी अस्तालकी फाइनान्स डाइरेक्टर गुरुङले ससुरा बुवाको निधनबाट परिवारले सच्चा अभिभावक एवं घरको मियो गुमाएको छ भने राष्ट्रले सच्चा राष्ट्रसेवक गुमाएको भन्दै दुख व्यक्त गनुभएको छ । 

 नेपाल सरकारका विभिन्न निकायमा करिब ३० वर्ष इन्जिनियरका रूपमा राष्टको «सेवा गर्नुभएका श्रेष्ठले  देशमा पूर्वाधार तथा सिँचाइ विकासको सुरुवाती चरणदेखि नै विभिन्न महत्वपूर्ण आयोजना निर्माण तथा व्यवस्थापनमा महत्वपुर्ण मात्र ऐतिहासिक भुमिका खेल्नुभएको इञ्जिनियरहरुले बताएका छन । श्रेष्ठले कोर्नुभएको पोखराको फेवातालको नक्साकै आधारमा उहांकै नेतृत्वमा फेवाताल संपन्न भएको थियो । 

  श्रेष्ठको समयमा  आधुनिक प्रविधि, स्रोत–साधन तथा सहज यातायातको सुविधा अत्यन्तै कम हुंदाको कठिन भौगोलिक अवस्था र निकै चुनौतीपूर्ण परिस्थितिका बीच उहांले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ र इमानदारीपूर्वक पूरा गर्नुभएको थियो त्यसैले पनि  इञ्जिनियरिङ क्षेत्रमा जहिले पनि चर्चा हुने गरेको बताइएको छ । दिवंगत श्रेष्ठले  विकास आयोजनालाई सरकारी जिम्मेवारी मात्र नभई देशको विकास र भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय दायित्वका रूपमा लिने गरेको कारणले विभिन्न विभूषण एवं अन्य विभिन्न पदवीवाट सम्मानित हुनुभएको थियो । 

   उहासंगै काम गरेका र उहांको निर्देशनमा काम गरेकाहरुले श्रेष्ठलाई कुशल इन्जिनियर तथा निष्ठावान् राष्ट्रसेवकका साथै सरल, शालीन, अनुशासित  र असल अभिभावकका रूपमा स्मरण गर्ने गर्छन् ।  परिवारप्रतिको माया, जीवनप्रतिको सकारात्मक दृष्टिकोण, असल संस्कार र सबैप्रतिको सम्मान सदैव प्रेरणाको स्रोत बन्ने परिवारले जनाएको छ।

    परिवारका तर्फबाट बुहारी रेणुका गुरुङले अन्तिम बिदाइमा भन्नुभएको छ – ‘बुबा, तपाईंको भौतिक उपस्थिति अब हामीमाझ नरहे पनि तपाईंले देशका लागि गर्नुभएको योगदान, असल कर्म, इमानदारी, संस्कार, माया र आशीर्वाद सधैँ हाम्रो हृदयमा जीवित रहनेछन्। तपाईंले छोडेर जानुभएको असल विरासत नै हाम्रो लागि सबैभन्दा ठूलो सम्पत्ति हो।’

इन्जिनियर तथा राष्ट्रसेवक नन्द कुमार  श्रेष्ठका परिवारमा २ छोराहरु दिनेश श्रेष्ठ, उमेश श्रेष्ठ र बुहारीहरु चन्दा श्रेष्ठ, रेणुका गुरुङ र छोरी सरिता श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठको पशुपति आर्यघाटमा नेपाल सरकारले दिने  सम्मानका साथ मंगलवार दाहसंस्कार गरिएको थियो ।