भदौ २३ र २४ को घटना मानव सभ्यताकै क्रुर घटना : संविधानविद् डा. आचार्य


काठमाडौं ।

संविधानविद् डा. भीमार्जुन आचार्यले २०८२ भदौ २३ र २४ गतेका घटनालाई मानव सभ्यताकै क्रुर घटनाको संज्ञा दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. आचार्यले उक्त घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता बोकेको नेपाललाई क्षणभरमै ‘सुरुङभित्र’ पारेको टिप्पणी गरेका हुन्।

उनले भदौ २३ र २४ को अवस्थालाई भोटेकोशी बाढीमा सुरुङभित्र फसेका मानिसले भोगेको पीडा र त्रासदीसँग तुलना गर्दै क्षतिको पूर्ण लेखाजोखा हुन नसकेको बताएका छन्।

अब सुरुङभित्रै सुशासन खोज्ने कि पहिले देशलाई सुरुङबाट जीवितै उद्धार गर्ने भन्ने निर्णय नेपालीकै हातमा रहेको उनको भनाइ छ। नेपालको भौगोलिक अवस्थिति वरदान बन्न सक्ने भए पनि सधैं अभिशापजस्तो बनेको उनले टिप्पणी गरेका छन्।

डा. आचार्यले देश टुटफुट हुन नहुनेमा जोड दिँदै देशी तथा विदेशी राजनीति न्यूनतम विधि र मानवीय मूल्यमा आधारित भएर सञ्चालन हुनुपर्ने बताएका छन्। साथै, देशलाई ‘सुरुङ’बाट छिटो र सकुशल उद्धार गर्नुपर्नेमा उनले जोड दिएका छन्।