ओलीको दाबी– ‘भदौ २४ को हिंसा योजनाबद्ध षड्यन्त्र’


काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको हिंसा तथा विध्वंस अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आक्रोशको स्वाभाविक परिणाम नभई लोकतान्त्रिक प्रणाली उल्ट्याउने योजनाबद्ध षड्यन्त्र भएको दाबी गर्नुभएको छ। भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा जारी प्रेस वक्तव्यमा अध्यक्ष ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक–निजी सम्पत्तिमाथि भएको आगजनी र आक्रमणलाई नेपालको इतिहासकै ‘कालो अध्याय’को संज्ञा दिनुभएको छ।

ओलीले शान्तिपूर्ण प्रदर्शनका नाममा आपराधिक समूहले घुसपैठ गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाएको आरोप लगाउँदै घटनाको गहिरो छानबिन हुनुपर्ने बताउनुभएको छ। उहाँले त्यस दिनको घटनामा सुरक्षा निकायको भूमिकाबारे उठेका प्रश्नको समेत यथोचित जवाफ खोजिनुपर्ने धारणा राख्नुभएको छ। वक्तव्यमा ओलीले भदौ २३ गतेको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। सो घटनामा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको वक्तव्यमा उल्लेख छ।

ओलीले राजनीतिको अपराधीकरण, दण्डहीनता र राज्य दहनका घटनालाई सामान्य बन्न नदिनुपर्नेमा जोड दिँदै हिंसा र अराजकतालाई कुनै पनि अवस्थामा वैधता दिन नहुने बताउनुभएको छ। सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ। उहाँले पछिल्लो समय लोकतन्त्र, संविधान, संसद्, न्यायालय र लोकतान्त्रिक संस्थाविरुद्ध प्रतिशोध तथा घृणाको अभियान तीव्र भएको दाबी गर्दै मुलुकलाई अलोकतान्त्रिक र प्रतिगमनको बाटोतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउनुभएको छ।

एमाले अध्यक्ष ओलीले युवाहरूको सरोकार र अपेक्षा जायज रहेको तर ‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा तथा विध्वंसमा युवाहरूको संलग्नता नरहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार उक्त घटनाबाट अन्य शक्तिले लाभ उठाएका कारण अहिले युवामा निराशा बढेको छ। वक्तव्यको अन्त्यमा ओलीले लोकतन्त्र, संविधान, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र शान्तिको रक्षा गर्न लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूलाई सक्रिय हुन आह्वान गर्नुभएको छ।