काठमाडौं।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले किम्रुङ खोलामा बाढीको जोखिम रहेको भन्दै कालिगण्डकी दोभानसम्मका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, पर्वतबाट किम्रुङ खोला पहिरोका कारण थुनिएको जानकारी प्राप्त भएको जनाएको छ। किम्रुङ खोला मोदी खोलाको शाखा नदी हो।
खोला थुनिएपछि सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले नयाँपुल, वीरेठाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाअनुसार पनि किम्रुङ खोलामा पहिरो खसेर पानीको बहाव अवरुद्ध भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नयाँपुल, वीरेठाँटीलगायत आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
यस्तै, मोदी खोला आसपासका क्षेत्रमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी नदी करिडोरमा आवागमन नगर्न पनि बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ।












प्रतिक्रिया