काठमाडौँ ।
दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र तीनवटै जिल्ला प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
विपद्को मौका छोपेर केही व्यवसायीले मौज्दातमा रहेका खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीको समेत मूल्य बढाएको गुनासो आउन थालेपछि उपत्यकाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तीनवटै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन थालेको हो । अहिले भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि भएका सडक अवरोधका कारण मालबाहक सवारीको आवतजावतमा अवरोध भएको छ ।
मन्त्रालयले बजारमा चामल, चिनी, खाने तेल, तरकारी, फलफूल तथा खाना पकाउने ग्यासको मूल्य र आपूर्तिको अवस्थाबारे निगरानी बढाएको जनाएको छ । मन्त्रालयले गठन गरेका १६ वटा अनुगमन टोलीमध्ये हाल १० वटा टोली बजारमा परिचालन भइसकेका छन् ।
नियमित अनुगमनसँगै उपभोक्ताबाट आएका गुनासाका आधारमा समेत टोली परिचालन भइरहेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताउनुभयो । अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीमाथि कारबाहीसमेत भइरहेको मन्त्रालयले जनाएको छ ।
विशेषगरी चिनी, चामल र खानेतेलको मूल्य बढेको गुनासो बढिरहेको छ । केही खुद्रा व्यापारीले थोक बजारबाट सामानको आपूर्ति सहज नभएको र ढुवानी खर्च बढेको बताएका छन् भने उपभोक्ताले भने सडक अवरोधलाई बहाना बनाएर पुरानो मौज्दातको समेत मूल्य बढाइएको आरोप लगाएका छन् । अहिले विशेष गरी बिक्रेताले बजारको चलनचल्तीको मूल्यभन्दा बढी लिएर ग्यास र चिनी बिक्री गरिरहेको गुनासो प्रशासनमा बढी आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो ।
‘ग्यास एउटाको २५ सयसम्म लिने गरेको गुनासो आएको छ । सर्वसाधारणको गुनासोलाई हेरेर बजार अनुगमन गर्दै आएका छौँ’ –प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो । प्रशासनले विपद् तथा चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, सामान लुकाउने वा मनलाग्दी मूल्य असुल्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । कार्यालयका अनुसार ग्यास डिलर, डिस्ट्रिब्युटर तथा पसल गरी २१ ठाउँमा अनुगमन गरिसकेको छ । कैफियत देखिएको ग्यास पसल र खाद्य पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको छ ।
त्यसैगरी खाद्य स्टोर २ वटामा उद्योग व्यवसाय दर्ता प्रमाणपत्र र मूल्यसूची सर्वसाधारणले देख्ने गरी राख्न निर्देशन दिइएको थियो । म्याद नाघेका बेकरी सामग्रीहरू (केक) कच्चा पदार्थ (क्रिम मिक्स) तथा जुस बिक्री कक्षमा फेला परेकाले नष्ट गरी जरिवाना गरिएको थियो ।
सडक अवरोधका कारण वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको र त्यसको असर बजारमा परेको व्यवसायीहरू बताउँछन् । खाद्य व्यापार संघ नेपाल चामल, तेल, दाल उद्योग संघका प्रतिनिधिहरूले उद्योगबाट उत्पादनको मूल्य नबढाइएको दाबी गरेका छन् । उद्योगीहरूले पुरानो मौज्दातमा मूल्य बढाएर बिक्री गर्नु गलत भएको बताउँदै यस्तो गतिविधिमाथि सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने बताएका छन् ।
खाद्यान्नसँगै हरियो तरकारी तथा फलफूलको मूल्यमा पनि वृद्धि देखिएको छ । कालीमाटीलगायतका बजारमा तरकारी तथा फलफूलको आपूर्ति घटेपछि खुद्रा बजारमा मूल्य बढेको व्यापारीहरू बताउँछन् । यसैबीच उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिसमेत प्रभावित भएपछि सरकारी निकायले ग्यासको उपलब्धता र वितरणमाथि विशेष निगरानी थालेको छ । नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास आपूर्ति गर्ने प्रयास गरिरहेको जनाएको छ ।












प्रतिक्रिया