विपत्तिमा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान, ‘यो दोषारोपण गर्ने समय होइन’


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी प्राकृतिक विपत्तिको घडीमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई एकताबद्ध भएर उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिले राजनीतिक विवाद र एकअर्कालाई दोषारोपण गर्ने समय नभएको बताए ।

‘यो विभाजनको समय होइन, यो त राष्ट्रिय एकता र पुनरुत्थानको समय हो,’ राष्ट्रपति पौडेलले भने ।

उनले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । साथै बेपत्ता नागरिकको खोजी तथा घाइतेहरूको शीघ्र उपचारका लागि आवश्यक सबै प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए ।

जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकहरूको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उनीहरूको साहस, समर्पण र सेवाभावले नेपालको उत्कृष्ट मानवीय भावना तथा राष्ट्रिय चरित्रलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो ।

तर कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार रोक्ने बहाना बनाउन नहुनेमा उनले जोड दिए ।

‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ उनले भने ।

राष्ट्रपति पौडेलले विपत्तिबाट विस्थापित नागरिकका लागि सुरक्षित आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्नेमा समेत उनले जोड दिए ।

मृतकहरूको पहिचान प्रक्रिया संवेदनशील, व्यवस्थित र विश्वसनीय बनाउन आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राख्नुपर्ने राष्ट्रपति पौडेलले बताए ।

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

राष्ट्रपति पौडेलले पछिल्लो प्राकृतिक विपत्तिले नेपालको हिमाली तथा पारिस्थितिकीय प्रणालीको संवेदनशीलता पुनः उजागर गरेको बताए ।

अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु परिवर्तनबाट प्रभावित मुलुकको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आग्रह गरे ।

‘नेपालजस्ता पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुनिनुपर्छ । म अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान गर्दछु,’ उनले भने ।

उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति उनले आभार व्यक्त गरे ।

विकास मोडेलमै पुनर्विचार गर्नुपर्नेमा जोड

राष्ट्रपति पौडेलले अब पुनर्निर्माण र पुनःस्थापनाको प्रक्रियामा अघि बढ्दा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

विपत्तिबाट प्रभावित नागरिकका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न उनले सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे ।

नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायतका विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताको धैर्य, साहस र दृढताले यस पटक पनि विपत्तिबाट पार पाउन सकिने विश्वास व्यक्त गरे ।

उनले विपत्तिको यस कठिन घडीमा राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, व्यवसायी समुदाय, उद्धार तथा राहतमा संलग्न संघसंस्था र सम्पूर्ण नागरिकलाई राष्ट्रिय एकताका साथ अघि बढ्न आह्वान गरेका छन् ।