वृद्ध दम्पतीलाई बन्धक बनाई डाँका चोरी गर्ने ५ जना पक्राउ


रामेछाप । 

रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवार टोलमा ८५ वर्षीय बखतमान लामा र उहाँकी ८६ वर्षीय श्रीमती कान्छी माया तामाङलाई घरमै बन्धक बनाई डाँका चोरी गर्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

गएको भदौ १८ गते राति घरको ढोका फुटाई भित्र पसेका नकाबधारी समूहले वृद्ध दम्पतीलाई प्लास्टिकको टेपले हात, मुख र आँखा बाँधेर ज्यान मार्ने धम्की दिँदै गहना तथा नगद लुटेका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता कमल राउतले बताउनु भयो ।

पक्राउ पर्नेहरूमा सिन्धुलीका २५ वर्षीय सुमन जर्घा मगर, रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पीताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्। उनीहरूको साथबाट विभिन्न सवारी साधन, नगद, मोबाइल, बैङ्कका चेक बुक तथा सुनजस्तो पहेँलो धातुका गहनाहरू बरामद गरिएको छ।

प्रहरी अनुसन्धानका क्रममा यो समूह मन्दिरको दान पेटिका फुटाउने तथा खसी-बोका चोरी गर्ने जस्ता अन्य घटनामा पनि संलग्न रहेको खुलेको छ। साथै, पक्राउ परेका पशुपति श्रेष्ठ, दीर्घराज मोक्तान र गुणराज विश्वकर्मा यसअघि पनि डाँका चोरी, अभद्र व्यवहार र जुवा सम्बन्धी मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।