दोलखामा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा १ मिनेट १३ सेकेन्ड मौनधारण


दोलखा ।

निजामती सेवा दिवससँगै सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा दोलखास्थित सरकारी कार्यालयमा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गरिएको छ।

रसुवामा विनाशकारी बाढी आएको आज १३औँ दिन तथा निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय दोलखाले बिहान ६ बजेदेखि कार्यालयको राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

कार्यालय समय सुरु भएसँगै बिहान ठिक ९ बजे कार्यालयका सम्पूर्ण कर्मचारी निमित्त प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको कार्यकक्षमा भेला भएका थिए। उनीहरूले रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारीसहित सम्पूर्ण मृतकहरूको सम्झनामा १ मिनेट १३ सेकेन्ड मौनधारण गरेका हुन्।

मौनधारणपछि कार्यालयका कर्मचारीहरू नियमित सेवाप्रवाह तथा कार्यालयको काममा फर्किएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

राष्ट्रिय शोक दिवसका अवसरमा देशका विभिन्न सरकारी कार्यालयमा पनि बाढीपहिरो तथा विपद्मा परी ज्यान गुमाएकाहरूको सम्मानमा शोक कार्यक्रम तथा मौनधारण गरिएको छ।