काठमाडौँ।
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी)लाई प्रदान गर्ने निर्णय गरेको छ। नेवार समुदायको परम्परागत ‘मुकुण्डोनाच’ अर्थात् नेवाः समुदायको परम्परागत ‘ख्वापाः प्याख’ सम्बन्धी कृतिका लागि राजभण्डारीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार सामुदायिक अभ्यासका रूपमा रहँदै आएको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गर्ने महत्वपूर्ण काम गरेकाले उक्त कृतिलाई मदन पुरस्कारका लागि छनोट गरिएको हो।
विसं २०१२ मा स्थापना भएको मदन पुरस्कार नेपाली साहित्य क्षेत्रमा प्रतिष्ठित पुरस्कारका रूपमा रहँदै आएको छ। यस वर्ष विभिन्न विधाका गरी २९८ पुस्तक पुरस्कारका लागि आवेदनमा परेका थिए। तीमध्ये गुठीले १० वटा कृतिलाई अन्तिम मनोनयनमा समावेश गरेको थियो।
मदन पुरस्कारका लागि मनोनयनमा परेका अन्य कृतिमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशाको ‘हिउँद’ रहेका थिए।
जगदम्बाश्री गीतकार किरण खरेललाई
यसैगरी, मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
छ दशकदेखि गीत लेखनमा सक्रिय खरेलले नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप जगदम्बाश्री पुरस्कार प्रदान गर्न लागिएको हो।
मदन पुरस्कार गुठीले विसं २०४५ देखि जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।












प्रतिक्रिया