एसिसी प्रिमियर कपः साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौँ।

नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुलशनकुमार झाले अविजित ४४ रन बनाए। ईशान पाण्डेले ४४, देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए।

साउदी अरेबियाका इश्ताक अहमद र मुहम्मद आतिफले नेपालका दुई–दुई विकेट लिए।

यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो।

साउदी अरेबियाका अब्दुल वाहीदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।

नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक–एक विकेट हात पारे।

प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ।