नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिवार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ। भेटमा खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण तथा नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिक नगरेको निहुँमा भाग लिनबाट वञ्चित गर्न नपाइने र १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने माग राखेका थिए। स्रोतका अनुसार सभापति थापा ती मागहरू पूरा गर्न सकारात्मक बनेपछि सहमति हुने सम्भावना प्रबल बनेको छ।
यसैबिच, आन्तरिक विवाद सुल्झाउन सभापति थापाले आइतबार बिहान अर्का नेता डा. शेखर कोइरालासँग पनि भेटवार्ता गरेका छन् । डा. कोइरालाले पार्टी एकताका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनकै सदस्यताका आधारमा अघि बढ्ने, केन्द्रीय कार्यसमिति समायोजन गर्ने र विभिन्न समितिहरू सहमतिमा मात्र बनाउने प्रस्ताव अघि सारेका छन्। यी प्रस्तावहरूमा खड्काको पनि समर्थन रहेको बताइएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आन्तरिक सहमति जुटाउन सभापति आफैँ लागिपरेको र छलफलका उपलब्धिबारे दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकमा ब्रिफिङ हुने जानकारी दिएका छन्। शीर्ष नेताहरूबिच सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको मिति केही समय पछाडि सर्न सक्ने सङ्केतसमेत गरिएको छ।












प्रतिक्रिया