काठमाडौँ ।
गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ । गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए । मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए ।
आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाब कम भएको र अहिले खोला पहिलाकै अवस्थामा रहेको उनले बताए । सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको उनले बताए ।












प्रतिक्रिया