कला बेचेर पीडितको घर बनाउने अभियान

‘आर्ट फर होप’ प्रदर्शनीमा ३७ कलाकारका २६५ कलाकृति


काठमाडौं ।

रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारको पुनर्स्थापनामा सहयोग जुटाउने उद्देश्यले ‘आर्ट फर होप’ नामक विशेष कला प्रदर्शनी सुरु भएको छ। काठमाडौंको ढल्कोस्थित नेपा बैंक्वेटमा आयोजना गरिएको उक्त प्रदर्शनीमा देशभरका ३७ जना कलाकारका २६५ वटा कलाकृति प्रदर्शनमा राखिएका छन्।

‘तपाईंले किनेको हरेक चित्र, कसैको घरको इँटा बन्नेछ’ भन्ने मूल नारासहित सुरु भएको प्रदर्शनीबाट संकलित रकमको ७० प्रतिशत बाढी–पहिरो पीडितको राहत तथा पुनर्निर्माणका लागि नेपाल सरकारमार्फत हस्तान्तरण गरिने आयोजकले जनाएको छ। बाँकी ३० प्रतिशत रकम सम्बन्धित कलाकारलाई प्रदान गरिनेछ।

प्रदर्शनी आर्ट बुम, परम्परागत आरोग्य संस्था नेपाल र नेपा बैंक्वेट प्रालिको संयुक्त आयोजनामा भदौ गत शुक्रबारदेखि शुरु भएको यो विशेष कला प्रदर्शनी भोली आइतबारसम्म सञ्चालन हुने बताइएको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणले प्रदर्शनी अवलोकन तथा कलाकृति खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

आर्ट बुमका अध्यक्ष रत्न शाक्यले प्राकृतिक विपत्तिको यो कठिन घडीमा कलाकार समुदायले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न खोजेको बताए। उनले भने- ‘कलाले केवल सौन्दर्य र सिर्जना मात्र होइन, समाजप्रतिको दायित्व पनि बोकेको हुन्छ। यस प्रदर्शनीमार्फत कलाकारहरू पीडितको पुनर्निर्माण यात्रामा सहभागी हुन चाहन्छन्। एउटा चित्रको बिक्रीले कसैको घर पुनः निर्माणमा योगदान पुर्‍याउन सक्छ भन्ने विश्वासका साथ हामीले यो अभियान सुरु गरेका हौं।’

शाक्यका अनुसार प्रदर्शनीमा समेटिएका कलाकृतिहरू विविध शैली, विषयवस्तु र माध्यमका छन्, जसले नेपाली कला क्षेत्रको सिर्जनात्मक विविधतालाई समेत प्रस्तुत गर्छ। कला प्रेमी, सङ्कलक तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई मानवीय अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो।

हाल रसुवा लगायतका विपद्ग्रस्त क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता बढिरहेका बेला कलाकारहरूको यो पहललाई सिर्जनात्मक मानवीय सहयोगको उदाहरणका रूपमा हेरिएको छ। विपत्तिले घरबार गुमाएका परिवारको जीवन पुनः उभ्याउने अभियानमा कला क्षेत्रबाट गरिएको यो योगदानले पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउने अपेक्षा गरिएको छ।