लगातार पहिरो आउन थालेपछि अपिहिमालको भट्टार बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो

0
Shares

धनगढी ।

सुदूरपश्चिमको विकट हिमाली जिल्ला दार्चुलास्थित अपिहिमाल गाउँपालिका–१ को भट्टार बस्तीमा लगातार भीषण पहिरो खस्न थालेपछि त्यहाँका बासिन्दालाई स्थानान्तरण गरिएको छ। उच्च जोखिममा परेका भट्टारका बासिन्दाहरूलाई करिब एक घण्टाको पैदल यात्रापछि पुगिने नजिकैको अर्को सुरक्षित ठाउँमा सारिएको छ। बस्तीका मानिसहरूसँगै उनीहरूका गाईवस्तु, चौपाया र अन्नपात-रासनसमेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।

गाउँपालिकाका अनुसार हिजो बिहानदेखि खस्न थालेको पहिरो दिउँसो १ बजेपछि निरन्तर दुई घण्टासम्म ठूलो रूपमा खसेपछि बस्ती नै उच्च जोखिममा परेको हो। पहिरोको विशाल थुप्रो खस्दा मूल नदी चमेलिया झन्डै आधा घण्टासम्म पूर्ण रूपमा थुनिएर ताल बनेको थियो। अहिले नदीले आफैँ कटान गरेर थुनिएको भाग आंशिक रूपमा खोले पनि पहिरो खस्ने क्रम निरन्तर जारी रहेकाले बस्ती बग्ने खतरा कायमै रहेको गाउँपालिका अध्यक्ष भक्त बोहोराले जानकारी दिनुभयो। पहिरोले बस्तीको जमिन, खेतबारीका साथै पाक्ने समय भएको मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ भने पदमार्गसमेत अवरुद्ध बनेको छ।

घटनास्थलमा उद्धार तथा व्यवस्थापनका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली, कर्मचारी, स्वयंसेवकका साथै सशस्त्र प्रहरीका डिएसपीको कमान्डमा सुरक्षाकर्मीको टोली खटिएको छ। चमेलिया नदीमा ३ वटा ठूला जलविद्युत् आयोजनाका ड्यामहरू रहेकाले यदि पहिरोले थुनिएको नदी एक्कासि फुटेमा महाकाली नदीसमेत थप उग्र बन्नसक्ने र तटीय क्षेत्रमा ठूलो विनाश हुनसक्ने खतरा छ। यसले दार्चुला, बैतडी, डडेलधुरा हुँदै सुदूरपश्चिमको तराई जिल्ला कञ्चनपुरका अधिकांश भूभागहरू प्रभावित हुनसक्ने उच्च जोखिम रहेकाले सम्पूर्ण तटीय क्षेत्रमा उच्च सजगता र सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्तो गम्भीर परिस्थिति र विकट हिमाली भूगोलका कारण गाउँपालिकाको एक्लो प्रयासले मात्रै जोखिम नियन्त्रण र राहत व्यवस्थापन असम्भव रहेको अध्यक्ष बोहोराले बताउनुभयो। उहाँले तत्काल उद्धार, विस्थापित बस्तीको स्थायी स्थानान्तरण र दीर्घकालीन पुनःस्थापनाका लागि सङ्घीय र प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराउँदै सहयोगको अपिल गर्नुभएको छ।