सुनचाँदी व्यवसायी महासंघद्वारा विपद् कोषमा १ करोड ११ लाख सहयोग


काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा पदाधिकारी, कार्यसमिति सदस्य, सातै प्रदेशका अध्यक्ष, जिल्ला तथा नगर अध्यक्ष र एसोसिएट सदस्यहरूको सहभागितामा उक्त रकम कोषमा जम्मा गरिएको हो।

महासंघका महासचिव किरण भाई बज्राचार्यले विपद्को कठिन परिस्थितिमा राष्ट्र र नेपाली जनताप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको बताए।

महासंघले उक्त सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, एकता र सेवाभावको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने महासंघले प्रतिबद्धता जनाएको छ।