ईयूको थप ८२ टन राहत सामग्री नेपालमा


काठमाडौं । 

बाढीपीडितका लागि युरोपेली संघ (ईयू) ले नेपालमा थप मानवीय सहायता उपलब्ध गराएको छ। ईयूले युनिसेफसँगको सहकार्यमा विमानमार्फत ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याएको हो।

ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो सहयोग गर्ने जनाएको छ। उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री तथा सेवा उपलब्ध गराइनेछ।

ईयूको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले पनि नेपाललाई लाइफ ज्याकेट, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा चिकित्सा सामग्री र आपत्कालीन उपकरण पठाइरहेका छन्।

यसअघि ईयूले अगस्ट २८ मा २० लाख युरो बराबरको आपत्कालीन मानवीय सहायता घोषणा गरेको थियो। साथै, यस वर्षको सुरुवातमा नेपालमा विपद् पूर्वतयारीका लागि करिब ३० लाख युरो विनियोजन गरेको थियो।