बाढी–पहिरोको क्षति अकल्पनीय : ओली


काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी–पहिरोबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताउनुभएको छ।

रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा नुवाकोटको त्रिशूली पुग्नुभएका ओलीले अस्वाभाविक बहावसहित आएको बाढीले ठूलो क्षति पुर्‍याएको बताउनुभयो। उहाँले उद्धार र तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण तथा व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

ओलीले प्रभावित क्षेत्रमा आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका लागि ठोस योजना आवश्यक रहेको बताउँदै बालबालिकाको शिक्षा र बिरामीको औषधोपचारमा अवरोध हुन नदिन सरकारलाई आग्रह गर्नुभयो। साथै, एमालेका तर्फबाट राहत तथा सहयोगका कार्यलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।