ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति


काठमाडौं ।

नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले बाढीपीडितका लागि गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताए।

उनका अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढ्दा काठमाडौं उपत्यकामा मात्रै एक महिनामा करिब ११ करोड ५९ लाख रुपैयाँ अतिरिक्त भार उपभोक्तामाथि परेको छ। निगमले बाढीपीडितका लागि २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको उल्लेख गर्दै उनले मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरे।

ग्यास, पेट्रोल, डिजेललगायत अत्यावश्यक वस्तुको मूल्य बढ्दा समग्र बजारमा महँगी बढ्ने भन्दै कार्कीले उपत्यकाबाहिरका नागरिकका समस्यालाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।