काठमाडौं ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनासहित सुरक्षा निकायका टोलीले सुरुङ, नदी तथा प्रभावित बस्तीहरूमा खोज तथा उद्धारसँगै राहत र स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
मिति २०८३ भाद्र २० गते दिउँसो १ बजेसम्मको अपडेटअनुसार—
तादी नदीमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजको ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी पुल निर्माण कार्य तीव्र बनाएको छ।
हवाई उद्धारबाट १७ जनाको उद्धार
नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म १७ जनाको उद्धार गरेको छ।
त्रिशूली–३ ए मा खोजी जारी
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र थप खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–३ बी मा Bobcat र जेनेरेटर प्रयोग
त्रिशूली–३ बी मा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले Bobcat र जेनेरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ।
चिलिमे हाइड्रोमा १०५ मिटरसम्म पुग्यो टोली
चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउँदै पुनः १०५ मिटरसम्म प्रवेश गरेको छ।
माथिल्लो त्रिशूली–१ मा २५० मिटरसम्म खोजी
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका २० जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले Compressor लगायतका उपकरण प्रयोग गरी २५० मिटरसम्म भित्र पुगेर खोजी गरिरहेको छ। सुरुङभित्र रहेको लेदो हटाउने कामसमेत जारी छ।
मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल खोजी
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती गर्दै खोज तथा उद्धार कार्य भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २ सय ६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।












प्रतिक्रिया