काठमाडौं।
नेपाल–चीन सीमाक्षेत्रमा विपद्को जोखिम कायमै रहेका बेला चीनको जलस्रोत मन्त्रालयले नेपाली अधिकारीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको छ। मन्त्रालयको पछिल्लो मूल्याङ्कनअनुसार कुओजियान नदीको माथिल्लो क्षेत्रमा रहेको हिमनदीको अगाडिको भागमा चिरा फराकिलो भएको छ। यससँगै हिमनदी भत्किने जोखिम बढेको जनाइएको छ।
चीनको जलस्रोत मन्त्रालयले चीन–नेपाल सीमाक्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी सहकार्य सुदृढ गर्ने उद्देश्यले ग्यारोङ जाङबो नदी क्षेत्रमा विपद्का सम्भावित जोखिमबारे निरन्तर अध्ययन तथा मूल्याङ्कन गर्दै आएको जनाएको छ।
सेप्टेम्बर ४ गते बिहान ९ः२० बजेसम्मको अवस्थाबारे दिइएको जानकारीअनुसार पूर्व पुरेनपुकियाङ जाङबो बाँध तालको माथिल्लो र तल्लो भागमा नदीको पानी सामान्य रूपमा बगिरहेको छ।
यस्तै, कुओजियान नदीको प्रभाव क्षेत्रमा अहिले मुख्यतः माटो र पानीको मिश्रण रहेको तथा त्यसको तल्लो भाग र पानी बाहिर निस्कने क्षेत्रमा पानी सामान्य रूपमा बगिरहेको चिनियाँ पक्षले जनाएको छ। तर नदीको माथिल्लो क्षेत्रमा रहेको हिमनदीको अगाडिको भागमा रहेका चिरा फराकिलो भएकाले थप भत्किने जोखिम बढेको छ।
पहिरो थप खसे नयाँ ताल बन्न सक्ने
चिनियाँ जलस्रोत मन्त्रालयले पूर्व पुरेनपुकियाङ जाङबो बाँध तालको तल्लो क्षेत्रमा रहेका साना पहिरोका थुप्राले हालको नदीको बहावमा ठूलो असर नपारेको जनाएको छ।
हाल नदीको पानी बगिरहेको अवस्थामा रहे पनि नदीका दुवैतर्फका पहाडी ढलानमा पहिरो तथा भग्नावशेष बगेको स्पष्ट संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ।
पहिरोका थुप्रा थप भत्किएमा नदीको बहाव अवरुद्ध भई नयाँ बाँध ताल बन्न सक्ने जोखिमसमेत रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
१४ हिमनदी ताल तुलनात्मक रूपमा स्थिर
ग्यारोङ जाङबो नदी क्षेत्रमा गरिएको प्रारम्भिक अध्ययनमा १४ वटा हिमनदीबाट बनेका ताल पहिचान गरिएको छ। ती तालको सतह क्षेत्रफल शून्य दशमलव १०४८ देखि शून्य दशमलव ५५६० वर्ग किलोमिटरसम्म रहेको छ।
चिनियाँ पक्षका अनुसार ती १४ वटा ताल सामान्यतः तुलनात्मक रूपमा स्थिर अवस्थामा छन्।
तीन दिन वर्षाको सम्भावना
चीनको जलस्रोत मन्त्रालयका अनुसार सेप्टेम्बर ४ देखि ६ गतेसम्म ग्यारोङ बन्दरगाह आसपास हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। सो अवधिमा १० देखि ३० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
वर्षाका कारण ग्यारोङ जाङबो नदीमा पानीको सतह दुई चरणमा बढ्न सक्ने र ग्यारोङ बन्दरगाह क्षेत्रमा नदीको पानीको बहाव प्रतिसेकेन्ड करिब १५० देखि २०० घनमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
सेप्टेम्बर ४ गते दिउँसो १२ बजेको मापनअनुसार ग्यारोङ जाङबोको ग्यारोङ जलमापन केन्द्रमा पानीको सतह २ हजार ९५९ दशमलव ३७ मिटर र पानीको बहाव प्रतिसेकेन्ड ८० दशमलव २ घनमिटर रहेको थियो।
त्यस्तै, दोङलिन जाङबोको गुओबा जलमापन केन्द्रमा पानीको सतह २ हजार ९२३ दशमलव २१ मिटर र पानीको बहाव प्रतिसेकेन्ड ४५ दशमलव २ घनमिटर मापन गरिएको थियो। ग्यारोङ जाङबो बन्दरगाहभन्दा सात किलोमिटर माथि रहेको आपत्कालीन मापन क्षेत्रमा पानीको सतह २ हजार १ दशमलव ३८ मिटर र पानीको बहाव प्रतिसेकेन्ड ५४ दशमलव ३ घनमिटर रहेको प्रतिवेदनमा उल्लेख छ।
चीनको जलस्रोत मन्त्रालयको पछिल्लो मूल्याङ्कनमा हिमनदीको चिरा फराकिलो भएको, थप भत्किने जोखिम रहेको तथा पहिरो थप खसेमा नयाँ बाँध ताल बन्न सक्ने सम्भावना औंल्याइएको छ। त्यसैले नेपालतर्फ भोटेकोशी नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचनामा ध्यान दिन आवश्यक देखिएको छ।












प्रतिक्रिया