काठमाडौँ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भाद्र १९ गते बिहान करीव ५ बजे भारतीय नम्बरको कार खस्दा दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ । पोखराको लेकसाईडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । उक्त कारमा सवार भारत घर बताउने २७ वर्षिय अनमोल कुमार यादव र ३३ वर्षिय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्वार गरी उपचारको लागि पोखरास्थित जिएमसी अस्पताल लगिएको छ । उनीहरुको अवस्था भने मध्यम रहेको छ ।
त्यस्तै सो कारमा सवार भारत घर भएका २६ वर्षिय नवदीप कुमार यादव र २६ वर्षिय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोरले उक्त तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । सो पश्चात उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान करीव ६ बजेर २० मिनेटको समयमा मृत्यु घोषणा गरिएको हो । सो तालमा खसेको कारलाई समेत क्रेनको माध्यमबाट बाहिर निकालिएको छ ।












प्रतिक्रिया