तीन जिल्लामा द्रुत टिम, विद्यालय खुल्ने टुंगो छैन

नुवाकोटले गर्‍यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा

0
Shares

धादिङ, रसुवा र नुवाकोटका १७ विद्यालय क्षतिग्रस्त छन् भने ८ विद्यालयमा सेल्टर स्थापना गरिएको छ । ३२ विद्यालयका ९ हजार ७ सय ३२ विद्यार्थीको पठनपाठन पूर्णरूपमा रोकिएको छ ।

काठमाडौँ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढी प्रभावित विद्यालय, विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टिम तीन जिल्ला पुगेको छ । टिमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खुल्न सक्ने अवस्था छैन ।
विभागको टिमले मंगलवारबाट स्थलगत अनुगमन सुरु गरेको छ । स्थलगत अनुगमनको प्रतिवेदन आएपछि मात्र विद्यालय कहिलेबाट खुल्ने भन्ने निर्णय हुने विभागका निर्देशक निमप्रकाश राठौरले बताउनुभयो । राठौरको टोली धादिङ पुगेको छ । स्थानीय तह र प्रदेश सरकारसहितको प्रतिनिधिले विद्यालय अनुगमन जारी राखेको छ ।

भदौ १० मा आएको बाढीले ३२ विद्यालयमा पठनपाठन अनिश्चित भएको छ । रसुवा र नुवाकोटका प्रायः सबै र धादिङका ४ पूर्ण ध्वस्तसहित ८ विद्यालयमा पठनपाठन रोकिएको छ । ती विद्यालय बैरेनी र गल्छीका हुन् । विभागले बिहीवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार

धादिङ र रसुवाको ४–४ र नुवाकोटको ९ गरी १७ विद्यालय क्षतिग्रस्त छन् । तथ्याङ्कअनुसार जम्मा ३२ विद्यालयमा पठनपाठन पूर्ण रोकिएको छ । विभागका प्रवक्ता राठौरले तीन जिल्लाका ९ हजार ७ सय ३२ विद्यार्थीको पठनपाठन रोकिएको जानकारी दिनुभएको छ ।
धादिङमा ३ हजार ७ सय ५, नुवाकोटमा ४ हजार २ सय ५८ र रसुवामा १ हजार ७ सय ६९ विद्यार्थीको पढाइ ठप्प छ । नुवाकोटले अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेको छ । जिल्लाका स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी पूर्ण शान्त नहुन्जेलसम्म विद्यालय नखोल्ने जनाएको छ ।

बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार अर्को सूचना नआएसम्म विद्यालय खुला नहुने सूचना जारी गर्नुभएको छ । विदुर नगरपालिकाभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ ।

उत्तरगया इङ्लिस बोर्डिङ स्कुलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लक मात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्रावास, सहिद जगतप्रकाशजंग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

तर मन्त्रालय र विभागले कार्ययोजना तयार गरी ती जिल्लाका बालबालिकालाई तत्काल विद्यालयमा बोलाउने योजना बनाउने तयारी छ । द्रुत टिमको प्रतिवेदन आए लगत्तै विद्यालय सञ्चालन गर्न, मनोपरामर्श दिने, अस्थायी टहरा निर्माण गर्नेलगायत काम सुरु गर्ने विभागका सूचना अधिकारी राठौरले भन्नुभयो । विद्यालयमा पढ्न जाने वातावरण बनाउनुअघि सम्बन्धित स्थानीय तह, दातृ निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ ।