काठमाडौं ।
भदौ १९ गते बिहान ५ बजेसम्मको विवरणअनुसार विपद् प्रभावित क्षेत्रमा मृत्यु भएका व्यक्तिको कुल संख्या १ हजार २८२ पुगेको छ। प्राप्त विवरणअनुसार मृतकमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। त्यस्तै, ५३२ वटा आंशिक अंग फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। विपद्का कारण प्रभावित प्रहरी कार्यालयको संख्या ६५ पुगेको छ भने २५ वटा प्रहरी कार्यालय सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
यसैबीच, शव पहिचानको काम चुनौतीपूर्ण बनेको छ। विवरणअनुसार १ हजार १४१ शवको पहिचान हुन बाँकी रहेको छ। पहिचान हुन नसकेका शवमध्ये ९२६ शवलाई जमिनमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्तबाट गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको छ। विवरणअनुसार स्वदेशी र विदेशी नागरिकसम्बन्धी तथ्यांक पनि संकलन गरिएको छ।
स्वदेशीतर्फ २ हजार ८४७ तथा विदेशी नागरिकतर्फ ६०१ जनाको विवरण उल्लेख छ। विपद्पछिको अवस्थामा समुदायमा जनचेतना अभिवृद्धिका लागि प्रहरीले समेत कार्यक्रम सञ्चालन गरिरहेको छ। हालसम्म १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१ हजार ७२६ जनालाई सहभागी गराइएको विवरणमा उल्लेख छ। भदौ १९ गते बिहान ५ बजेसम्मको तथ्यांकले विपद्पछिको खोज, उद्धार, शव व्यवस्थापन र पहिचान प्रक्रिया अझै चुनौतीपूर्ण रहेको देखाएको छ।












प्रतिक्रिया