चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मनुष्मारा खोलामा मृत फेला


सर्लाही ।

धनकौल गाउँपालिका–३ हरकठवाकी चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादव गत आइतबारदेखि सम्पर्कविहीन थिइन् । बालिका हराएपछि परिवारका सदस्य, स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा उनको खोजी गरिरहेका थिए ।

खोजीका क्रममा मंगलबार साँझ बालिकाको शव धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिका नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले बताए ।

बालिकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।