हेटौंडा–काठमाडौं एक साताभित्र नयाँ बाटो


हेटौंडा ।

हेटौंडा–काठमाडौं यात्राका लागि नयाँ छोटो मार्ग पहिचान भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, भौतिक पूर्वाधार मन्त्री भरत केसी, पुर्वाधार मन्त्रालयका सचिव, पूर्वाधार निर्देशनालयका निर्देशक र पूर्वाधार कार्यालय मकवानपुरका प्रमुखसहित भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत शुरु गर्न सडकखण्डको भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्म अनुगमन गरिएको छ ।

उक्त सडक बिहीबारबाट मर्मत कार्य शुरु भएको छ । मुख्यमन्त्रीको निर्देशनानुसार ४ वटा एक्साभेटर, २ वटा लोडर, आवश्यक उपकरणहरु प्रयोग गरेर भीमफेदी र सिस्नेरी दुवैतिरबाट निर्माण कार्य शुरु भएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । बढीमा एक हप्ताभित्र उक्त सडकबाट यातायात सुचारु गर्न सकिने उहाँको दाबी छ । भीमफेदी–देउराली–कुलेखानी खण्डको सवारी चापको जाम अब अन्त्य हुने उहाँले बताउनुभयो ।

धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा अत्यधिक सवारी चाप बढेपछि सरकारले बिकल्प खोजेको हो । यातायात व्यवस्थापनका लागि स्थानीय प्रशासनले १४ सिटसम्मका सुमो, हाइस र कारहरु भीमफेदी–देउराली–कुलेखानी हुँदै सञ्चालन गरेको छ । काठमाडौंबाट हेटौंडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्ने व्यवस्था छ । १५ सिटभन्दा बढीका ठूला यात्रुबाहक सवारी त्रिभुवन राजपथ र मालबाहक सवारी कान्ति लोकपथबाट सञ्चालन हुँदै आएका छन् । सवारी चापका कारण सामान्यतया ३ घण्टामा हुने हेटौंडा–काठमाडौं यात्रा हाल बढेर करिब ५ घण्टासम्म लम्बिएको छ । उक्त बाटो साँघुरो, भिरालो र धेरै घुम्तीयुक्त छ ।

विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, राजमार्गमा सवारीचालकले धैर्य र अनुशासनपूर्वक पालोअनुसार सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्णरुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

हेटौंडा हुँदै काठमाडौं जाने मार्गमा सवारीसाधनको अत्यधिक चाप बढेकाले वैकल्पिक सडकको क्षमता तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन नयाँ व्यवस्था गरिएको स्थानीय प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै मौसम, सडकको अवस्था तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कान्तिलोकपथ हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारीसाधनले अनिवार्यरुपमा साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोष्ट पार गरिसक्नुपर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै त्रिभुवन राजपथको सडकमा काठमाडौंबाट हिँडेका सवारीसाधन हेटौंडामा राति १ बजेसम्म आइपुग्नुपर्ने र सोही मार्गबाट हेटौंडातर्फबाट १ बजेपछि काठमाडौं जाने व्यवस्था गरेको छ । मालबाहक सवारीसाधनलाई कान्ति राजपथ हुँदै काठमाडौं जाने व्यवस्था मिलाउन थालिएको सूचनामा उल्लेख छ ।