कृष्णभिरको पहिरो पन्छाउन १८ जनशक्ति परिचालन


काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम तीव्र पारिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ।

रुख कटान सकिएलगत्तै आवश्यक निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति शृंखला प्रभावित भएको छ भने यात्रुहरूलाई आवतजावतमा सास्ती भएको छ। यही अवस्थाको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयाससमेत हुन थालेको जनाइएको छ।