भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २ सय ५२ पुग्यो, ४ हजार ८७५ अझै बेपत्ता


काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ५२ पुगेको छ ।

बिहीबार बिहान १० बजेसम्मको विवरणअनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० शव फेला परेका छन् । भारतमा फेला परेको तथा नवलपरासी पश्चिममा बुझाइएको १८ शवसमेत गरी कुल मृतक संख्या १ हजार २५२ पुगेको हो ।

हालसम्म ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीका अनुसार हालसम्म २१३ महिला, ३१४ पुरुष र पहिचान खुल्न नसकेका ३७० गरी ८९७ शव व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका ९५९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

यस्तै, बाढीपछि ४ हजार ८७५ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार १२६ जनालाई राखिएको छ ।

प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा खोज तथा उद्धार गर्ने र अवरुद्ध सडक तथा बाटो खुलाउने कामसमेत जारी राखेको जनाएको छ ।