काठमाडौँ।
धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका–१४ का विशाल लामा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले चन्द्रागिरि नगरपालिका–४ छुकिनटोलस्थित सडकमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र तीन हजार नगद लुटपाट गरेका थिए ।
घटनालगत्तै फरार भएका उनीहरुलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट पक्राउ गरेको हो । पक्राउका क्रममा प्रहरीले लुटिएको मोबाइल तथा घटनामा प्रयोग भएको घरेलु हतियार बरामद गरेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि थानकोट प्राथमिक अस्पताल पठाइएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया