काठमाडौँ।
भोटेकोशी नदीमा आएको बाढीपछि नदी आसपासका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धारकर्मीसँग समन्वय गर्दै लाङ्टाङ र चिलिमे क्षेत्रमा काम गरिरहेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सुरुङ प्रवेश गर्ने दिशामा केही काम अघि बढेको भए पनि भित्र ठूलो मात्रामा हिलो र ढुङ्गा थुप्रिएकाले उद्धारका लागि थप प्रयास आवश्यक देखिएको छ।
भोटेकोशी बाढीसम्बन्धी मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता क्षेत्रीले चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली–३ ‘ए’ मा परिचालन गरिएको जानकारी दिए। उनका अनुसार चिनियाँ टोलीले नेपाली उद्धारकर्मीसँग सहकार्य गर्दै सुरुङको केही भाग खोलिसकेको छ।
त्यस्तै, कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर अपर त्रिशूली–१ को सुरुङ खोल्ने काम गरिरहेको छ। खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन दक्षिण कोरियाबाट आवश्यक सहयोग तथा ‘लजिस्टिक्स’ आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
डीएनए परीक्षणमा विदेशी टोलीको सहयोग
बाढीपछि फेला परेका शवको पहिचानका लागि पनि विदेशी विज्ञ टोलीको सहयोग लिइएको छ। मन्त्रालयका अनुसार १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना परीक्षण तथा विश्लेषण गरिरहेको छ।
चीनबाट पाँच सदस्यीय विशेष फरेन्सिक टोलीसमेत नेपाल आइपुगेको छ। उक्त टोलीले नेपाल प्रहरीले सञ्चालन गरिरहेको डीएनए नमुना प्रशोधन र विश्लेषणको कामलाई थप तीव्र बनाउन सहयोग गरिरहेको प्रवक्ता क्षेत्रीले बताए।
यसैगरी, सिङ्गापुरबाट ६ सदस्यीय ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ नेपाल आइपुगेको छ। थप १३ सदस्य डीएनए परीक्षणका उपकरणसहित नेपाल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। उच्च क्षमताका ड्रोन तथा अन्य आवश्यक सामग्रीसहित थप सदस्यहरू पनि उक्त टोलीमा सहभागी हुनेछन्।
आवश्यक उपकरणसहितको थप कोरियाली फरेन्सिक टोली पनि खोज तथा पहिचान कार्यमा सहभागी भएको मन्त्रालयले जनाएको छ।
एक हजार ११४ शव फेला
सुरक्षा निकाय, सरकारी संयन्त्र, चिकित्सा तथा आपतकालीन उद्धार टोलीलगायत सम्बन्धित निकाय प्रभावित क्षेत्रमा संयुक्त रूपमा परिचालित छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारसँगै प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको छ।
पछिल्लो विवरणअनुसार हालसम्म १ हजार ११४ शव फेला परेका छन् भने करिब ३ हजार ९०० जना अझै बेपत्ता छन्। विपद्बाट प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन्। तीमध्ये पाँच जना सम्पर्कमा आई सुरक्षित अवस्थामा रहेको जानकारी मन्त्रालयले दिएको छ। ३४ देशका करिब ५९० जना विदेशी नागरिक भने अझै बेपत्ता रहेको जनाइएको छ।
२ हजार ५०० तीर्थयात्री फर्किए
मन्त्रालयका अनुसार कैलाश पर्वत जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी नाका हुँदै नेपाल फर्किसकेका छन्।
बाँकीलाई पनि स्वदेश फर्कन आवश्यक सहजीकरण भइरहेको छ। केही व्यक्ति ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, करिब १ हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेको र उनीहरूलाई नेपाल फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए।
केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरलाई उपयुक्त सीमा नाकाबाट पुनःरुट निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ। चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।












प्रतिक्रिया