काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेको थियो।
बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले १५औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतसहित पद्मनारायण चौधरी, सीता गुरुङ, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, रंगमती शाही, गुरु बराल, भीम पराजुली, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र आमन्त्रित सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले धारणा राखेका थिए।
बैठकले बाढीबाट ठूलो मानवीय क्षति भएको र सयौँको ज्यान जानुका साथै हजारौँ बेपत्ता, सयौँ घाइते तथा हजारौँ परिवार विस्थापित भएको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ।
कांग्रेसले बेपत्ता नागरिकको खोजी तथा उद्धारमा भएको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपालभित्र तथा विदेशमा रहेका विज्ञ र मित्रराष्ट्रबाट विशेषज्ञ टोली झिकाएर अत्याधुनिक प्रविधिको प्रयोग गर्न सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, राहत वितरणमा भइरहेको ढिलाइप्रति समेत कांग्रेसले चिन्ता व्यक्त गरेको छ। प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र उचित क्षतिपूर्तिसहित पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय तहको अगुवाइमा पीडित परिवारसम्म शीघ्र राहत पुर्याउन माग गरेको छ।
विपद्को कठिन अवस्थामा सहयोगका लागि राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी–व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायलाई कांग्रेसले अपिलसमेत गरेको छ।
बैठकले विपद्को समयमा मानवीय सेवामा निरन्तर खटिन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई पुनः आह्वान गरेको छ।
महाधिवेशन तयारीका विषयमा छलफल जारी रहेकाले समितिको अर्को बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ।












प्रतिक्रिया