काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति रसुवा, धादिङ र नुवाकोटमा मात्र सीमित नरहेको बताएका छन्। उनले उक्त विपद् सिङ्गो देशले भोग्नुपरेको साझा दुःख र बज्रपात भएको बताएका हुन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको बाढीले छोटो समयमै ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताए।
सम्बोधनको सुरुवातमै उनले भने, ‘यो रसुवा, धादिङ र नुवाकोट मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो।’ उनले बाढीका कारण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइ गुमाउनुपरेको पीडाप्रति दुःख व्यक्त गरे।
प्रधानमन्त्री शाहले विपद्को यस्तो कठिन अवस्थामा सरकार र नेतृत्वले थकान तथा व्यक्तिगत पीडालाई भन्दा जनताको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए। संकटका बेला जनतालाई हिम्मत र भरोसा दिलाउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ थियो।
उनले विपत्तिसँग जुध्न दृढ इच्छाशक्ति र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको बताए। साथै, विपद् व्यवस्थापनका विषयमा सरकारमाथि विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी पूर्वानुमानभन्दा बाहिरको घटना भएको दाबी गरे।
प्रधानमन्त्रीले बाढीपछि सरकारले सञ्चालन गरेका उद्धार, राहत तथा खोजी कार्यबारे समेत संसद्लाई जानकारी गराउँदै विपद्पीडितको उद्धार र सहयोगका लागि सरकार निरन्तर सक्रिय रहेको बताए।












प्रतिक्रिया