काठमाडौं ।
रसुवामा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटले खाद्यान्न तथा अत्यावश्यक सामग्री संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागितामा संकलन गरिएको राहत सामग्रीमा करिब ६० बोरा चामल, ठूलो परिमाणमा दाल, बिस्कुट, चिउरा, चाउचाउ, नुन, चिनी तथा मिनरल वाटरलगायतका सामग्री छन्। त्यसैगरी करिब ३०० थान कम्बल र थुप्रै भाडाकुडा समेत संकलन गरिएको विद्यालयले जनाएको छ।

संकलित सामग्री रसुवा विपद्पीडितका लागि सरकारमार्फत प्रभावित क्षेत्रमा पठाउने गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने विद्यालयका प्रिन्सिपल रूपक राजवंशीले जानकारी दिनुभयो । विपद्का बेला सहयोग गर्नु केवल राहत उपलब्ध गराउने विषय नभई मानवीय जिम्मेवारी भएको जिकीर गर्दै प्रिन्सिपल राजवंशीले भने-‘विपद्का बेला पीडित परिवारलाई हामी सबैको साथ र सहयोग आवश्यक हुन्छ। विद्यार्थी, शिक्षक र कर्मचारीको सामूहिक प्रयासबाट संकलन भएको यो सहयोग सरकारमार्फत वास्तविक प्रभावित परिवारसम्म पुगोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’ उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदनाबारे व्यवहारबाटै सिकाउन आवश्यक रहेको बताए।

विपद्को समयमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी तथा न्यानो कपडाजस्ता सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन गरिएको विद्यालयले जनाएको छ।रसुवामा विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला विद्यालयको अभियानले पनि तत्काल आवश्यक सामग्री उपलब्ध गराउन योगदान पुर्याएको छ।

विद्यालयले संकलित राहत सामग्री सरकारको संयन्त्रमार्फत वास्तविक प्रभावितसम्म पुग्ने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया