–प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित
–हालसम्म १,०५० जनाको शव फेला, करिब ३,९९६ जना सम्पर्कविहीन
–११,९९३ जनाको उद्धार, विदेशीको सङ्ख्या २७३
–रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध
–प्रभावित १५ पालिकालाई थप ६ करोड ७५ लाख रुपैयाँ निकासा
काठमाडौँ ।
गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट खनेर केही गर्न सकिन्छ कि भनेर सरकारले नयाँ योजना बनाएको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । रसुवा बाढीपछि पहिलो पटक गृहमन्त्री गुरुङले पत्रकारहरूसँग साक्षात्कार गर्दै भन्नुभयो– ‘सुरुङमा उद्धार गर्न नेपाली सेनाको नेतृत्वमा खटिएका भारतीय टोली र चिनियाँ टोलीले यो कार्य निकै कठिन भएको बताइरहेका छन् । तर राज्यले आश छाड्नु भएन, हामीलाई नयाँ विचार आएको छ । त्यो के हो भने माथिको ठाउँबाट पनि खनेर त्यहाँ ‘ड्रिल’ गरेर भए पनि राशन पानी र सञ्चारको केही व्यवस्था गर्न सक्ने केही सम्भावना छ कि भनेर त्यतातिर प्रयास गर्दैछौँ ।’
उहाँले हालसम्म अपनाइएका उपायबाट अपेक्षित सफलता प्राप्त नभए पनि सरकारले उद्धार अभियान नरोकेको स्पष्ट पार्दै सुरुङको संरचना, माथिल्लो भूभागको अवस्था तथा थप जोखिमको मूल्याङ्कन गर्न नेपालका प्राविधिक टोलीसँगै भारत र चीनका प्राविधिक टोलीहरूसँग पनि समन्वय भइरहेको बताउनुभयो । तर जलविद्युत् आयोजनाभित्र फसेकाहरूको उद्धार गर्ने सम्बन्धमा जलविद्युत् आयोजनाका संचालक तथा प्राविधिकहरूसँग सुरुङको संरचनाबारे जानकारी मागिएको छ कि छैन भन्ने पत्रकारको प्रश्नमा भने उहाँले स्पष्ट जवाफ दिनुभएन ।
यद्यपि राज्यले आशा नछोडेको भन्दै सरकारको सम्पूर्ण ध्यान अझै खोज तथा उद्धार कार्यमै केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो– ‘प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी बल तथा विदेशी प्राविधिक टोलीहरू दिनरात खटिरहेका छन् । उहाँहरूले जोखिमपूर्ण अवस्थाका बीच पनि आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको ज्यान जोगाउन लागिपर्नुभएको छ, त्यसका लागि म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु ।’ प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सेना ९ हजार १९९, प्रहरी ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।
पत्रकार सम्मेलनमा मंगलवार साँझसम्म एक हजार ५० जनाको शव भेटिएको जानकारी दिइयो । तीमध्ये सबैभन्दा धेरै चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ शव भेटिएका छन् । प्राधिकरणका अनुसार भारत पुगेका ५ वटा शव नेपाल पठाइएको छ ।
त्यसैगरी हालसम्म उद्धार गरिएकाहरूको सङ्ख्या ११ हजार ९९३ रहेको छ भने सेनाले विदेशी २७३ र नेपाली ४ हजार ९१ जनाको हवाइ उद्धार गरेको छ । अहिलेसम्म करिब ५ हजार जना बेपत्ता भएको अनुमान गरिए पनि नेपाल प्रहरीको २५, सेनाको ४५, सशस्त्र प्रहरी बलको १३, भन्सार कार्यालयको १५, अध्यागमन कार्यालयका ३ सहित करिब ३ हजार ९९६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।
पत्रकार सम्मेलनमा नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ गरी हाल कुल ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेको र उनीहरूका लागि स्वास्थ्य उपचारका साथै मनोपरामर्श चिकित्सकको पनि व्यवस्था गरिएको जानकारी दिइयो । हालसम्म २९२ जना घाइते अस्पतालमा भर्ना भएकोमा विभिन्न अस्पतालहरूबाट १८२ जना स्वास्थ्य लाभ गरी डिस्चार्ज पनि भइसकेको जनाएको छ । हालसम्म सेनाले २ हजार ९१५ र सशस्त्रले १ हजार १५५ को उपचार गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिरणका अनुसार हालसम्म प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य र गैरखाद्य राहत सामग्री पठाइ सकिएको छ । मंगलवार साँझ थप १४ गाडी राहत सामग्री प्रभावित पठाइएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । त्यसैगरी हालसम्म हेलिकप्टरबाट ७७ वटा उडान गरी राहत सामग्री पठाइएकोमा मंगलवार मात्रै पनि १६ उडानबाट नुवाकोटको ८ स्थानमा तथा ११ उडानबाट रसुवाको ११ स्थानमा राहत सामग्री पठाइएको बताइएको छ ।
पत्रकार सम्मेलनमा सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइसकेको जानकारी दिइएको थियो । त्यसैगरी प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख पहिल्यै पठाइसकेको र मंगलवार पुनः १५ पालिकालाई थप ६ करोड ७५ लाख रुपैयाँ नगद राहत निकासा गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म सेनाले ६१० हवाइ उडान र काठमाडौँबाट नीजि क्षेत्रले २९ उडान भरेका छन् । प्रभावित क्षेत्रमा डिजेल ३५ हजार लिटर, पेट्रोल १५ हजार र हवाइ इन्धन ९ हजार लिटर मौज्दात रहेका बताइएको छ ।












प्रतिक्रिया