टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा भेटियो


काठमाडौँ।

रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदीमा भेटिएको छ।

रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान सवा ८ बजे आएको भीषण बाढीमा परेर सम्पर्कविहीन भएका अधिकृत शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली किनारमा भेटिएको हो।

त्रिशूली नदीको किनार (गोरखातर्फ) शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

भन्सार अधिकृत शर्मा हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दा हुन्। उनको शव पोष्टमार्टमपछि परिवारले बुझिसकेका छन्।

भोटेकोशीले बगाएकामध्ये गोरखातर्फको त्रिशूली किनार क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएका छन् ।