रसुवादेखि नवलपरासीसम्म खोज तथा उद्धार तीव्र, हाइड्रोका सुरुङमा पनि प्रवेश


काठमाडौं ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म सेनाले हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरेको छ। बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका वा सम्पर्कविहीन हुनसक्ने व्यक्तिको खोजीका लागि नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले विभिन्न आयोजनाका सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ।

चिलिमे हाइड्रोको सुरुङभित्र संयुक्त टोली करिब ५० मिटरसम्म प्रवेश गरी खोजी गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोको सुरुङमा करिब २०० मिटरसम्म टोली प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाएको छ। त्रिशूली–३ ए आयोजनामा टनेल हेड फेला पारिएको छ।

सुरुङभित्र हावा पठाउन कम्प्रेसर प्रयोग गरिएको छ भने जमेको पानी निकाल्ने काम भइरहेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकरमार्फत ढुंगा फुटाउने कामसमेत भइरहेको छ। त्यसैगरी त्रिशूली–३ बी आयोजनामा विज्ञसहितको सुरक्षाकर्मीको टोली परिचालन गरी सुरुङमा प्रवेश गर्ने द्वार पत्ता लगाइएको छ।

अहिले एक्स्काभेटरसहितका उपकरण प्रयोग गरेर भित्र प्रवेश गर्ने मार्ग खोल्ने काम भइरहेको छ। बाढी आएको तत्कालीन समयमा उद्धार अभियानका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। जसमा रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ एबाट २२१ जना, माथिल्लो त्रिशूली–३ बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना रहेका छन्। ९ हजारभन्दा बढी सैनिक परिचालन बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, सडक सञ्चालन र आपत्कालीन उपचारलाई प्रभावकारी बनाउन नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सेनाले जनाएको छ। सेनाका टोलीले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरिरहेका छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष रूपमा अवस्था बुझ्दै उद्धारको आवश्यकता पहिचान गर्ने, सुरक्षा प्रत्याभूति दिलाउने तथा आवश्यकताअनुसार खोज तथा उद्धार अघि बढाउने काम भइरहेको छ। यससँगै अवरुद्ध सडक खुलाउने, घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग तथा आपत्कालीन उपचारका कामसमेत जारी छन्। प्रभावित क्षेत्र निसंक्रमण गर्न डिसइन्फेक्सन बाढीपछि फैलिन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रभावित क्षेत्रहरूमा डिसइन्फेक्सन (निसंक्रमण) गर्ने काम पनि अघि बढाइएको छ।

सेनाका अनुसार धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताल, परासी, सुनवल नगरपालिका–४ स्थित शव सङ्कलन केन्द्र र मुलपानी सामुदायिक वनस्थित शव व्यवस्थापन क्षेत्रमा डिसइन्फेक्सन गरिएको छ। अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँग समन्वय गरी निसंक्रमणको काम विस्तार गर्ने तयारी भइरहेको सेनाले जनाएको छ।