काठमाडौँ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि राजधानीमा आपूर्ति हुने एलपी ग्यास राजधानी बाहिरका उद्योगमा भरेर काठमाडौं लैजान थालिएको छ।
नेपाल आयल निगमले ग्यास उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएपछि उपत्यका र छिमेकी जिल्लाका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगसँग समन्वय गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार कृष्णभीरको बाटो नखुलेसम्म वैकल्पिक सडकमार्फत ग्यास काठमाडौं ल्याइनेछ। त्रिभुवन राजपथलगायतका सडक प्रयोग गरी ग्यास ढुवानी गरिनेछ।
ग्यास उद्योगी विमल कालाखेतीका अनुसार बाहिरी जिल्लाका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेको छ। त्यसैले उपत्यकामा ग्यास अभाव नहुने भन्दै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास जगेडा नराख्न आग्रह गरेका छन्।
श्री, श्रीकृष्ण, श्रीराम, नेपाल ग्यास, एभरेष्ट र सुगमलगायतका उद्योगले विभिन्न बाहिरी उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरिसकेका छन्।












प्रतिक्रिया