चितवन ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका शव फेला पर्ने क्रम जारी छ। अत्यधिक संख्यामा शव फेला परेपछि पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार रातिसम्म २८० वटा सनाखत हुन नसकेका शव व्यवस्थापन गरिएको छ। ती शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा खाडल खनेर जमिनमुनि राखिएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म ३२१ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भएको छ भने बाँकी शवको पहिचान खुल्न सकेको छैन।
अत्यधिक शव संकलन भएपछि व्यवस्थापनमा समस्या देखिएसँगै शनिबारदेखि डीएनए नमुना संकलन गरेर शवलाई देवघाटको जंगलमा खाडल खनी जमिनमुनि राख्न थालिएको हो। शनिबार ९६, आइतबार १०३ र सोमबार ८१ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये १०१ वटा लिङ्ग पहिचान हुन नसकेका, १०३ वटा पुरुष, ६४ वटा महिला, ६ वटा बालिका र ६ वटा बालकका शव रहेका छन्।
प्रहरीका अनुसार शव व्यवस्थापन गर्नुअघि आवश्यक प्रक्रिया पूरा गरी डीएनए नमुना सुरक्षित राखिएको छ। सनाखत भएका शव भने पोस्टमार्टमपछि सम्बन्धित परिवारलाई बुझाइएको छ।
तर केही परिवारले शव पहिचान गरे पनि जमिनमुनि व्यवस्थापन गरिसकिएकाले तत्काल शव लैजान नपाएको गुनासो गरेका छन्। कोहलपुरबाट आएका दिप्रका थारूले आफूहरूले आफन्तको शव पहिचान गरे पनि गाडिसकिएका कारण डीएनए परीक्षणबिना लैजान नपाएको बताए।
‘हाम्रो शव हामीले पहिचान गरेका छौँ,’ थारूले भने, ‘तर शव गाडिसकिएको अवस्थामा डीएनए परीक्षण नगरी लैजान नपाएका हौँ।’
यस्तै, अन्य केही आफन्तले पनि शव पहिचान भए पनि व्यवस्थापन गरिसकिएको भन्दै शव नलिई फर्किनुपरेको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले भने जमिनमुनि राखिएका शवलाई अन्त्येष्टि गरिएको नभई कानुनी प्रक्रियाअनुसार सुरक्षित रूपमा व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिएको छ र संकेत चिह्नसमेत राखिएको छ।
‘हामीले शवलाई अन्त्येष्टि गरेका होइनौँ, व्यवस्थापन गरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘मृतकको डीएनए नमुना संकलन गरेर सुरक्षित राखेका छौँ। डीएनए परीक्षणबाट आफन्तसँग मेल खाएपछि राखिएको स्थानबाट शव उपलब्ध गराउन सकिन्छ।’
चितवनमा एकैपटक ठूलो संख्यामा शव फेला पर्न थालेपछि शव राख्ने तथा व्यवस्थापन गर्ने स्थानको अभाव भएको प्रशासनले जनाएको छ। नदी किनारमा शव फेला पर्ने क्रम अझै नरोकिएकाले अब फेला पर्ने शवको पनि डीएनए नमुना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ।
सोमबार मात्रै चितवनका विभिन्न नदी तथा नदी किनारका क्षेत्रमा ४९ वटा शव फेला परेका छन्। हालसम्म फेला परेका ३२१ शवमध्ये १२६ वटा पहिचान नखुलेका, ११६ पुरुष, ६६ महिला, ७ बालक र ६ बालिकाका शव रहेको प्रहरीले जनाएको छ।
बाढीपछि त्रिशूली र नारायणी नदीको बहाव क्षेत्रमा ठूलो संख्यामा शव तथा मानिसका अवशेष फेला पर्न थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी, उद्धार तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।
यसअघि शव राख्नका लागि चितवनमा निर्माण गरिएको अस्थायी शव संकलन केन्द्रसमेत सोमबारदेखि बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार शवको संख्या बढ्दै गएपछि अस्थायी संकलन केन्द्रमा राखेर व्यवस्थापन गर्न सम्भव नभएकाले नयाँ व्यवस्था गरिएको हो।
‘हामीले निर्माण गरेको अस्थायी शव संकलन केन्द्र आजबाट बन्द गरेका छौँ,’ उनले भने, ‘अब भेटिएका शवको डीएनए नमुना संकलन गरी जमिनमुनि नै व्यवस्थापन गर्छौँ।’
प्रशासनले शव व्यवस्थापन गर्दा पहिचान तथा भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिने अवस्थालाई ध्यानमा राखिएको जनाएको छ। प्रत्येक शवको विवरण, डीएनए नमुना र व्यवस्थापन गरिएको स्थानको अभिलेख राखिएकाले पछि सनाखत भएमा सम्बन्धित परिवारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव उपलब्ध गराउन सकिने प्रशासनको भनाइ छ।
भोटेकोशी बाढीपछि त्रिशूली हुँदै नारायणी नदीसम्म बगेर आएका शव चितवनका विभिन्न स्थानमा लगातार फेला परिरहेका छन्। खोजी तथा उद्धार टोलीले नदी किनार, जंगल तथा आसपासका क्षेत्रमा खोजीलाई तीव्र बनाएको छ। बाढीका कारण बेपत्ता भएका व्यक्तिका आफन्तहरू भने चितवनसम्म आइपुगेर अस्पताल, शव संकलनस्थल तथा व्यवस्थापन गरिएको क्षेत्र आसपासमा आफन्तको खोजी गरिरहेका छन्।












प्रतिक्रिया