नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान सुरु, भोटेकोशी तालको निगरानी गरिँदै


काठमाडौं ।

नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीमा बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गर्न दुई वटा सिसी क्यामेरा जडान गर्ने काम सुरु भएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार भोटेकोशीमा आएको बाढीपछि नदी क्षेत्रमा बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित खतरा समयमै पहिचान गर्न क्यामेरा जडान गर्न लागिएको हो।

आजदेखि सुरु भएको जडान कार्य सम्पन्न भएपछि ताल तथा नदीको बहावलाई प्रत्यक्ष दृश्य निगरानी गर्न सकिनेछ। यसबाट तालको अवस्था परिवर्तन भएमा वा नदीको बहावमा असामान्य वृद्धि देखिएमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउन सहज हुने अपेक्षा गरिएको छ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा सञ्चालनमा आएपछि नदीको बहाव र तालको अवस्थालाई नियमित रूपमा हेर्न सकिने बताए। उनका अनुसार दृश्य निगरानीबाट सम्भावित जोखिमको प्रारम्भिक संकेत पहिचान गरी आवश्यक पूर्वसूचना दिन सहयोग पुग्नेछ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सीमा क्षेत्रमा बनेको तालका कारण जोखिम बढ्न सक्ने भन्दै यसको निगरानीलाई प्राथमिकता दिइएको हो।