‘अब युवावर्गलाई सचेत पार्ने तिर समय खर्चिने छु ’ : गृह सचिव श्रेष्ठ


काठमाडौं।

गृहसचिव राजकुमार श्रेष्ठले अवकाशपछिको बाँकी जीवन निजी कम्पनीको जागिरमा नभई युवालाई लागूऔषध, महिला हिंसा र यौन दुव्र्यवहार विरुद्ध सचेत गराउन समय खर्चिने बताउनुभएको छ ।

२९ वर्ष ९ महिना ४ दिन सरकारी सेवामा बिताएर मंगलबारदेखि अवकाश लिन लाग्नुभएको हो। गृहसचिवका रूपमा बाल सुधार गृह तथा विभिन्न कारागारको निरीक्षण गर्दा लागूऔषध तथा जबरजस्ती करणी सम्बन्धी कसुरमा सजाय भोगिरहेका युवाको संख्या उल्लेख्य पाएको उहाँले बताउनुभयो। १८ देखि ४० वर्ष आसपासका धेरै युवा लागूऔषध सेवनपछि अपराधमा पुगेको देखिएको उहाँको भनाइ छ ।

‘धेरै युवा लागूऔषध सेवनबाट अपराधतर्फ पुगेको देखियो। आफूले गरेको काम अपराध हो र त्यसमा सजाय हुन्छ भन्ने जानकारी समेत नभएको पाइयो,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब युवालाई लागूऔषध नियन्त्रण र यौन दुव्र्यवहार सम्बन्धी कानुनी तथा सामाजिक विषयमा सचेत गराउने अभियानमा लाग्नेछु।’

श्रेष्ठ २०८२ पुस १४ गते गृह मन्त्रालयको सचिवमा सरुवा हुनुभएको थियो। श्रेष्ठका लागि गृहसचिवको आठ महिना दुई दिनको कार्यकाल भने सहज थिएन। जेन्जी विद्रोहपछिको संक्रमणकालमा मुलुक निर्वाचनतर्फ अघि बढिरहेका बेला गृह मन्त्रालयको कर्मचारीको नेतृत्व सम्हाल्नुभएका उहाँलाई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने चिन्ता थियो।‘एक थोपा रगत नबगी निर्वाचन सम्पन्न भयो। त्यो मेरा लागि ठूलो सन्तुष्टिको विषय हो,’ उहाँले भन्नुभयो।

राज्यका विभिन्न निकायमा काम गरेको अनुभवलाई अब सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा उपयोग गर्ने उहाँको भनाइ छ । विशेषगरी अख्तियार, निर्वाचन, लोकसेवा र महालेखापरीक्षकको कार्यालयमा काम गर्दाको अनुभवबाट राज्यका कामकारबाही र सुशासनका विषयमा योगदान गर्न सकिने श्रेष्ठको विश्वास छ ।

गृहसचिवका रूपमा आफ्नो कार्यकाललाई उहाँले ‘ अन्तरमनले धिक्कार्नुपर्ने अवस्था नआएको’ समयका रूपमा मूल्यांकन गर्नुभएको छ । पूर्ववर्ती कतिपय गृहसचिव विवादमा तानिएको घटनाबाट आफू सचेत रहेको उहाँले बताउनुभयो। ‘धेरै राम्रो काम गर्न सकियो कि सकिएन, त्यो आफ्नो ठाउँमा छ । तर आत्मसम्मानले धिक्कार्नुपर्ने गरी काम गरेको छैन। यसमा म खुशी छु,’ उहाँले भन्नुभयो। अवकाशपछि सरकारको आलोचक बन्नेभन्दा आफूले जानेको र भोगेको अनुभवका आधारमा सुझाव दिने उहाँको योजना छ । पदमा रहँदा काम नगर्ने तर अवकाशपछि सरकारको आलोचना गर्ने प्रवृत्ति आफूलाई मन नपरेको उहाँले बताउनुभयो।

यसैबीच, आफू अवकाशमा जाने तयारीमा रहेका बेला रक्षा मन्त्रालयका सचिव केदार शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको र आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको भन्ने समाचार बाहिरिँदा भने आफन्त र शुभेच्छुकको फोनले श्रेष्ठलाई हैरान बनाएको रहेछ । ‘ म १५ गतेसम्म हाजिर हुने हो।उहाँलाई १६ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा सरुवा गरिएको निर्णय भएको थियो। समाचार फरक–फरक आएपछि आफन्तहरूले धेरै चिन्ता र आश्चर्यका साथ फोन गर्नुभयो । ’ श्रेष्ठले भन्नुभयो।