काठमाडौं।
रसुवामा आएको बाढीपछि प्रभावितको उद्धार तथा खोजी कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार दिउँसो १ः३० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ३३० जनाको उद्धार गरिएको छ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा समेत सेनाको विज्ञ टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशूली–३ हाइड्रो पावरको टनेलमा करिब १५ मिटर भित्रसम्म पुगेर उद्धार तथा खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली हाइड्रोको ३बी टनेलमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा भने संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म भित्र पुगेर खोजी गरेको थियो। त्यहाँ मानिस फेला नपरेपछि टोली बाहिरिएको नेपाली सेनाले जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाका जवानहरू खोला, डाँडाकाँडा तथा स्थानीयवासीका घरघरमा पुगेर खोज तथा उद्धार कार्यमा खटिएका छन्।

सेनाले प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी खोज, उद्धार तथा राहतसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।












प्रतिक्रिया