काठमाडौं।
भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोबाट भएको मानवीय क्षतिको विवरण थप भयावह देखिएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (NEOC) का अनुसार सोमबार दिउँसो १ बजेसम्म विभिन्न जिल्लामा गरी ९२१ जनाको शव फेला परेको छ।
NEOC का अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २७९, नवलपरासी पूर्वमा २१२, नवलपरासी पश्चिममा १५८, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, तनहुँमा ३७ र रसुवामा २३ शव फेला परेका छन्। उक्त विवरणमा विभिन्न मानव अंगसमेत समावेश गरिएको जनाइएको छ।
यस्तै, विपद्का कारण करिब ४ हजार १४१ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्।
यसैगरी रसुवामा करिब ८६५, नुवाकोटमा करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै, करिब ५१७ विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिकमध्ये नेपाल घुम्न आएका करिब १६४ जना तथा जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९३३ जना सम्पर्कविहीन रहेको उल्लेख छ।
विपद्मा परी २६७ जना घाइते भएका छन्। घाइतेमध्ये केही उपचाररत रहेका छन् भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना समेत घाइते भएको विवरणमा उल्लेख छ।
११ हजारभन्दा बढीको उद्धार
सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३१८ जनाको उद्धार गरेको छ। नेपाली सेनाले ३ हजार ५९६, नेपाल प्रहरीले ३ हजार ७९८ र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा ३ हजार ९२४ जनाको उद्धार गरेका छन्।
उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८३४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ९०९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन्।
राहतका लागि ९ करोड २५ लाख नगद
नेपाल सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनका लागि २ करोड ५० लाख रुपैयाँ नगद पठाएको छ। रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ पठाइएको हो।
त्यस्तै, प्रभावित १५ स्थानीय तहलाई राहत तथा व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ नगद पठाइएको छ। यसरी सरकारले हालसम्म प्रभावित क्षेत्रमा नगद राहतका रूपमा कुल ९ करोड २५ लाख रुपैयाँ पठाएको विवरणमा उल्लेख छ।
हेलिकप्टर र ट्रकमार्फत राहत सामग्री पठाइँदै
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कार्य पनि जारी रहेको छ। भदौ १० र ११ गते स्लिपिङ ब्याग, ब्ल्याङ्केट, चाउचाउ, बिस्कुटलगायत खाद्य तथा गैरखाद्य सामग्री गरी १० ट्रक पठाइएको थियो।
प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सञ्चार सेटसमेत पठाइएको छ। भदौ १२ गते हेलिकप्टरबाट चारवटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको थियो। त्यसपछि थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ।
भदौ १३ गते २ हजार २० किलो खाद्य सामग्री तीन बोलेरोमार्फत उत्तरगया र चारवटा बोलेरोमार्फत धुन्चे पठाइएको थियो। सोही दिन थप एक हेलिकप्टर उडानमार्फत खाद्य बन्दोबस्ती तथा उद्धारका सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ।
सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिइरहेका छन्।












प्रतिक्रिया