प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल


काठमाडौं।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान तथा खोजी, उद्धार, राहत र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग सघन छलफल अघि बढाएका छन्।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार कार्य, राहत वितरण र घाइतेहरूको व्यवस्थापनबारे विस्तृत ब्रिफिङ लिएका छन्।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले उद्धारका बाँकी सबै कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छलफल तथा ब्रिफिङ लिने कार्यक्रम रहेको जनाइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेहरूको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले बाढी प्रभावित क्षेत्रमा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्नसमेत निर्देशन दिएका छन्।

भोटेकोशी बाढीपछि रसुवालगायत प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।