चीनबाट ५० टन र भारतबाट ११ टन राहत सामग्री नेपाल आइपुग्यो


काठमाडौँ।

भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि मित्रराष्ट्र चीन र भारतले आइतवार राहत सहयोगलाई थप तीव्र बनाएका छन् । दुवै देशबाट हवाइमार्गमार्फत राहत सामग्री काठमाडौँ आइपुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा मानवीय सहायता जारी रहेको छ ।
आइतवार बिहान करिब ७ बजे चीनबाट दुईवटा विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले उक्त सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । राहत सामग्रीमा टेन्ट, फोल्डिङ बेड, सौर्य बत्ती, पानी शुद्धीकरण उपकरण, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री समावेश छन् ।

यसैबीच चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग पनि हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत माओमिङले आइतवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई झन्डै २० लाख अमेरिकी डलर (करिब साढे ३० करोड नेपाली रुपैयाँ) को चेक र चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर (करिब ३ करोड ६ लाख रुपैयाँ ) को नगद पनि हस्तान्तरण गर्नुभयो । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्ति सामना दुवै देशले मिलेर गर्ने बताउनुभएको थियो ।

यसैगरी, भारतले पनि चौथो चरणको राहत सहयोगस्वरूप आइतवार थप ११ टन राहत सामग्री नेपाल पठाएको छ । यसअघि भारतले बुधवार नै पहिलो चरणमा १० टन राहत सामग्री र अत्यावश्यक औषधी नेपाल पठाएको थियो । त्यसपछि बिहीवार थप ३७.५ टन राहत सामग्री पठाइएको थियो । यससँगै भारतबाट पठाइएको राहत सामग्रीको परिमाण ६८.५ टन पुगेको बताइएको छ । भारतले राहत सामग्रीसँगै प्राविधिक तथा मानवीय सहायता पनि उपलब्ध गराइरहेको जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीले नेपाल र चीन दुवै देशमा ठूलो जनधनको क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्य जारी रहँदा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ ।